भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका पीडितका लागि मधेश प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी निकाय, संघ संस्था र राजनीतिक दलबाट राहत संकलन अभियान तीव्र पारिएको छ ।
यसैक्रममा जानकी फाइनान्स कम्पनी लिमिटेडका कर्मचारीहरुले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक दिनदेखि पांच दिनसम्मको तलब प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका छ्न । यस्तै एसएम स्पोट्र्सले करिब ४ लाख रुपैयाँ बराबरको कपडा सहयोग गरेको छ । एसएम स्पोट्र्सले उपलब्ध गराएको राहत सामग्री जनकपुरधाम उद्योग वाणिज्य संघमार्फत राहत व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
एसएम स्पोट्र्सले बाढीपीडितका लागि विभिन्न प्रकारका गरी ४१८ थान/सेट कपडा उपलब्ध गराएको छ । जसमा ६४ सेट ट्रेकसुट, २८ सेट ट्राउजर–भेस्ट, ७४ सेट हाफप्यान्ट–भेस्ट, ३३ थान निभिया ट्राउजर, १७८ थान आईपीएल भेस्ट र ४१ थान विन्डचिटर रहेका छन् । त्यस्तै, च्वाइस टेलर्सका सञ्चालक असगर खानले ६५ थान तयारी सर्ट–पाइन्ट तथा बन्डी र ६ थान ट्रेकसुट समेत जनकपुरधाम उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत पु¥याउन जनकपुरधाम उद्योग वाणिज्य संघले राहत संकलन अभियान सञ्चालन गरिरहेको छ । संघले पीडितका लागि आवश्यक खाद्यान्न, कपडा तथा अन्य राहत सामग्री संकलन गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी गरेको जनाएको छ । राहत संकलनलाई व्यवस्थित बनाउन संघले आइतबार संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा संरक्षण, सल्लाहकारलगायत ९ सदस्यीय समिति गठन गरेको थियो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार गठित समितिले जनकपुरधामबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री संकलन तथा व्यवस्थापनको काम गर्नेछ । उनले विपद्को यस कठिन घडीमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
संघले संकलन हुने राहत सामग्रीलाई आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पु¥याउने जनाएको छ । पछिल्लो विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएकाले राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संघको भनाइ छ । जनकपुरधाम उद्योग वाणिज्य संघले इच्छुक व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई राहत अभियानमा जोडिएर बाढीपीडितलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।

