२०८३ भाद्र १७, बुधबार ०७:४७

भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा गत बुधवार आएको प्रलयकारी बाढीबाट प्रभावित मधेश प्रदेशका नागरिकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार तथा प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने मधेश प्रदेश सरकारले निर्णय गरेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा मंगलवार मधेश भवन, जनकपुरधाममा बसेको मन्त्रिपरिषद्को बैठकले बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । मधेश प्रदेशका मृत्यु भएका नागरिकको परिवार वा कानुन बमोजिमका नजिकका हकवालालाई प्रति मृतक एक लाख रुपैयाँ पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज भट्टराईले जनाएका छन् । सप्तरीका एकजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बाढीका कारण घाइते भएका मधेश प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । प्रदेशका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउने व्यवस्था गरिएको अर्थमन्त्री भट्टराईले बताए ।

‘मधेश सरकारले बाढी प्रभावित क्षेत्रमा सात हजार थान कम्मल र सात सय सेट टेन्ट पठाउने भएको छ’ उनले भने, कूल एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउन लागिएको छ । गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, वागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने उनले बताए ।

मधेश प्रदेश सरकारले प्रदेशबाट समेत उद्धार कार्यका लागि आवश्यक उपकरणहरु सहित सुरक्षाकर्मीहरुलाई पठाएको भए थप सहज हुने थियो । मन्त्री भट्टराईका अनुसार मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधन गर्न तयार गरिएको मस्यौदामाथि राय तथा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरिएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुगमनयोग्य र न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनले बताएका छन् । नुवाकोट र रसुवा जिल्लामा कार्यरत्त मधेशी कर्मचारी, शिक्षक, व्यवसायी बाढीको प्रलयमा परेका छन् । केही मानिसहरु परिवारजनको सम्पर्कमा आइसकेका र केही अझै सम्पर्कविहीन रहेका छन् ।

आफन्तहरुले सम्पर्कविहीनहरुको खोजी गर्न विभिन्न निकाय र जिल्लाहरुमा भौतारिरहेका छन् । उनीहरुको अवस्थाबारे कुनै निकायबाट आधिकारिक जानकारी आफन्तहरुले पाउन नसक्दा परिवारमा भारी चिन्ता छ । आफन्तका फोटोसहित परिवारजनहरुले विभिन्न अस्पताल र सरकारले तोकेको सम्पर्क स्थलहरुमा भौतारिरहेका छन् । उनीहरुले अन्नपानी समेत त्यागेका छन् । सन्तोषजनक जवाफ नपाउँदा परिजनहरुको पीडा बढ्दो छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार मधेश प्रदेशका एक सय ९५ जना सम्पर्कविहीन रहेकोमा मंगलबारसम्म ३२ जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्यु पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।

प्रहरीको तथ्यांक अनुसार मधेश प्रदेशको अझै एक सय ६२ जना सम्पर्क विहिन रहेका छन् । त्यस मध्ये तीन जना प्रहरी, दुई जना नेपाली सेना रहेका छन् । एक सय ५७ जना प्राविधिक, शिक्षक, व्यवसायी लगायत रहेको बताइएको छ । प्रहरी तथ्यांक अनुसार सर्वाधिक सप्तरी जिल्लाको ४५ र पर्सा जिल्लाको ३८ जना अझै सम्पर्कविहीन रहेका छन् । सप्तरी जिल्लाको एकजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म पर्सा जिल्लाको दुई जना र सप्तरी जिल्लाको तीन जना सम्पर्कमा आएको प्रहरीको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशका सम्पर्कविहीन रहेकाहरुको आफ् न्तले खोजी र उद्धार कार्यलाई अझै तीव्र बनाउन सरकारसित माग गरेका छन् ।

धेरैका आफन्तहरुले मोबाइल हराएर अथवा डिस्चार्ज भएर सम्पर्क हुन नसके पनि उनीहरु जिवित रहेको विश्वासका साथ खोजी गरिरहेका छन् । मधेश प्रदेशको विभिन्न संघ, संस्था, सरकारी कर्मचारी, उद्योगी, व्यवसायीलगायत व्यक्तिगतरुपमा राहत सामग्री र प्रधानमन्त्री कोषमा रकम दाखिला गरिरहेका छन् । विभिन्न क्षेत्रबाट राहत र नगद जम्मा गर्ने क्रम बढ्दो छ ।

Comment

Related News

Latest News

Trending News