नेपाल–चीन सीमा नजिकै भदौ १० गते आएको हिमपहिरोपछि भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीको आठौँ दिनसम्म पनि जनधनको क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट तथा नवलपरासी पूर्व–पश्चिमका विभिन्न क्षेत्रमा बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको खोजी जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार मंगलबार दिउँसोसम्म बाढी तथा पहिरोबाट १,००३ जनाको शव फेला परेको छ भने ११ हजार ८८४ जनाको उद्धार गरिएको र ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।
उद्धार तथा खोजी कार्यमा नेपाली सेनासहित २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् । विभिन्न स्वास्थ्य संस्थामा २७९ जना घाइतेको उपचार गरिएको छ । यद्यपि, विपद्को व्यापकता र विभिन्न जिल्लाबाट विवरण संकलन भइरहेकाले मृत्यु, घाइते र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन् । सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनले भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाएको छ । बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ । प्रतिवेदन अनुसार विभिन्न जिल्लामा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । चितवनमा सबैभन्दा बढी ३२१ जनाको मृत्यु पुष्टि भएको छ । नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको विवरण छ । देशका ६२ जिल्लाबाट ३ हजार ९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ । बेपत्ता हुनेमा स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, सरकारी कर्मचारी र विदेशी नागरिकसमेत छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । हवाई उद्धारलाई प्राथमिकता दिइएको छ । हालसम्म ५७३ वटा हवाई उडान सञ्चालन गरी ३ हजार ७०२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । भारत, चीन र दक्षिण कोरियाका खोज तथा उद्धार टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन भएका छन् । अधिकांश उद्धार उडान रसुवा, टिमुरे, त्रिशूली र धुन्चे क्षेत्रमा केन्द्रित छन् । रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ् मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक सडक, विद्युत र सञ्चार सेवाबाट विच्छेद भएर अलपत्र अवस्थामा छन् ।
जिल्लाका प्रमुख सडकहरू बन्द छन् । उत्तरगया–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने चारवटा पुलमा क्षति पुगेको छ । नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण रूपमा र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ । स्याटेलाइट म्यापिङका आधारमा भोटेकोशी– त्रिशूली करिडोरका ४ हजार ६८९ भवन जोखिममा परेको प्राधिकरणले जनाएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्ड अन्तर्गत घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ ।
बेलकोटगढी–१० स्थित पासाङ ल्हामु सडकखण्ड पनि अवरुद्ध छ । विपद्का कारण नेपाल टेलिकमका ११० र एनसेलका ७८ मोबाइल टावरमा क्षति पुगेको छ । यसले प्रभावित क्षेत्रमा उद्धार, राहत र बेपत्ताको खोजीमा समेत कठिनाइ थपेको छ । बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पु¥याएको छ । रसुवागढी, भोटेकोशी, चिलिमे, माथिल्लो त्रिशूलीलगायतका आयोजनाका संरचना, सबस्टेसन तथा प्रसारण लाइन प्रभावित भएका छन् । जलविद्युत् र सौर्य आयोजनासहित कुल ७८३.३८५ मेगावाट जडित क्षमताका आयोजना प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् । आठ विद्यालय पूर्ण र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य संस्थासमेत बाढीको चपेटामा परेका छन् । रसुवाका स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । नुवाकोटका फोहोरपानी प्रशोधन केन्द्र तथा खानेपानी आयोजनामा पनि क्षति पुगेको छ । अस्पतालको शवगृह भरिएपछि काठमाण्डुको गोकर्णेश्वर क्षेत्रमा बाढीमा फेला परेका पहिचान हुन नसकेका शवको सामूहिक व्यवस्थापन गरिएको छ । नेपाली अधिकारीहरूले शवबाट डीएनए नमुना संकलन गरेपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाएका छन् ।
पहिचान तथा आफन्तसँगको सम्बन्ध पुष्टि भएपछि शव परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।


