२०८३ भाद्र १७, बुधबार ०७:५९

लामो समयदेखि तलब नपाएको भन्दै रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू नगरपालिका कार्यालय परिसरमा धर्नामा बसेका छन् ।

बक्यौता तलब रकम भुक्तानीको माग गर्दै सम्पूर्ण करार कर्मचारीको आयोजनामा सुरु गरिएको शान्तिपूर्ण धर्नामा नगरपालिकाका विभिन्न वडा, शाखा तथा कार्यालयमा कार्यरत करार कर्मचारीहरूको सहभागिता रहेको छ । लामो समयदेखि आफूहरूले पाउनुपर्ने तलब तथा भत्ता नपाएको भन्दै कर्मचारीहरूले तत्काल बाँकी रकम भुक्तानी गर्न माग गरे ।

कर्मचारी रामपुजन रायका अनुसार करार कर्मचारीको बाँकी तलब–भत्ता उपलब्ध गराउनुपर्ने, उनीहरूका मागप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने तथा करार कर्मचारी माथि भइरहेको विभेद अन्त्य गर्नुपर्ने माग आफूहरुको रहेको बताएका छन् । कर्मचारी राकेश पटेलले आफ्ना माग पूरा नभएसम्म शान्तिपूर्ण धर्ना जारी राख्ने बताए । आन्दोलनका क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी नगरपालिकाको हुने उनले चेतावनी समेत दिए ।

धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा भइरहेको छ । उनीहरूले लामो समय देखि रोकिएको तलब–भत्ता तत्काल उपलब्ध गराई समस्या समाधान गर्न नगरपालिकासँग जोडदार रुपमा माग गरे । उता गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अहिले खाता सञ्चालन भएको छैन, खाता संचालन भएपछि उनीहरुको भुक्तानी गरिने छ, भुक्तानी गर्न करिव दुई करोडसम्म लाग्न सक्ने बताएका छन ।

करिव एक सय भन्दा बढि करारका कर्मचारी कार्यरत रहदा पछिल्ला ७ महिना देखि लिएर तिन महिना सम्मको तलव भत्ता बाकी रहेको हुँदा खाता संचालन भएपछि मात्रै भुक्तानी प्रक्रियामा जाने उनले स्प्ष्ट पारे । गढीमाई नगरपालिकाका कार्यवाहक मेयर स्मीता कुमारी यादवले असोज १५ गतेसम्म सबै करार कर्मचारीको बाँकी तलब– भत्ता भुक्तानी गरिने प्रतिबद्धता जनाएकी छन् ।

Comment

Related News

Latest News

Trending News