रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीको आठौँ दिनसम्म पनि प्रभावित क्षेत्रमा उद्धार, खोजी, शव संकलन तथा व्यवस्थापनको काम जारी छ ।
बाढीबाट रसुवासहित नुवाकोट, गोरखा, धादिङ, चितवन, तनहुँ र नवलपरासी पूर्वलगायतका जिल्लामा ठूलो मानवीय क्षति भएको छ। त्रिशूली नदीको बहावसँगै बगेका शव विभिन्न स्थानमा भेटिने क्रम जारी रहे पनि मृतक, घाइते र बेपत्ताको एकीकृत विवरण अझै सार्वजनिक हुन सकेको छैन । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ प्रहरी कर्मचारी परिचालन भएका छन्।
प्रभावित क्षेत्रबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८ सय ५८ जना सम्पर्कविहीन रहेको भन्दै खोजी भइरहेको छ। हालसम्म विभिन्न स्थानमा गरी १ हजार १ सय २७ शव फेला परेको विवरण सार्वजनिक गरिएको छ । बाढी अचानक र अत्यन्त तीव्र गतिमा आउनुको कारणबारे भने अझै स्पष्ट निष्कर्ष आएको छैन । जलवायु विज्ञ तथा हिमाल र हिमनदीसम्बन्धी विशेषज्ञहरूले घटनाको कारण र प्रकृतिबारे अध्ययन गरिरहेका छन् ।
प्रारम्भिक रूपमा हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षा, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियासँग जोडेर विभिन्न सम्भावनाबारे अध्ययन भइरहेको भए पनि आधिकारिक निष्कर्ष आउन बाँकी छ । सडक सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोटका बस्तीमा राहत तथा उद्धारका लागि नेपाली सेना र निजी वायुसेवा कम्पनीका हेलिकोप्टर निरन्तर परिचालन भइरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाढी आएको भदौ १० देखि बुधबारसम्म काठमाडौंबाट मात्रै २२० वटा हेलिकोप्टर उडान भएका छन् । यीमध्ये नेपाली सेनाका हेलिकोप्टरले ४३ र निजी कम्पनीका हेलिकोप्टरले १७७ वटा उडान गरेका छन् । त्रिशूलीस्थित सेनाको तालिम केन्द्रबाट प्रभावित क्षेत्रतर्फ भएका छोटो दूरीका सटल उडानको विवरण भने प्राधिकरणमा अझै समावेश भएको छैन ।
अधिकांश उडान रसुवाको टिमुरे, धुन्चे तथा त्रिशूली आसपासका प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पु¥याउन केन्द्रित छन् । भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा भदौ १५ गते बसेको नेपाल प्रहरी प्रधान कार्यालयको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट उक्त सहयोग गर्ने निर्णय गरेको छ ।
गोरखातर्फको त्रिशूली नदीमा बुधबार थप तीन शव भेटिएका छन् । यससंगै गोरखामा फेला परेका शवको संख्या ६९ पुगेको छ । बुधबार गोरखा नगरपालिका–१२ अबुँवा क्षेत्रमा मात्रै १६ शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखामा फेला परेका ६९ शवमध्ये ५२ शवको व्यवस्थापन भइसकेको छ । पोखरा पठाइएका ११ शवमध्ये चार जनाको सनाखत भएपछि परिवारले बुझेका छन् भने सात शवको पोखरामै व्यवस्थापन गरिएको छ । गोरखामै दुई शवको सनाखत भएको छ । हाल प्रदेश अस्पताल गोरखामा चार शव रहेका छन् ।
रसुवाका विभिन्न स्थानबाट हालसम्म १३३ शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेंसी र रोंगा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ शव संकलन गरिएको छ । शव गन्हाउन थालेपछि हेलिकोप्टरमार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ । बाढीले बगाएका शव भारतसम्म पुगेका छन् । भारतीय सुरक्षा निकायले उत्तर प्रदेशको कुशिनगर जिल्लाका विभिन्न क्षेत्रमा फेला परेका नौ शव सुनौली नाकामार्फत नेपाललाई हस्तान्तरण गरेको छ। तीमध्ये चार महिला, पाँच पुरुष र एक बालिका रहेका छन् ।
शव आवश्यक प्रक्रिया पूरा गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका १४५ शव व्यवस्थापन गरिएको छ । नारायणी नदी किनार र भारतमा भेटिएका थप १९५ शवसमेत बर्दघाटको चिसापानी र सुनवलको मूलपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको छ । पूर्वी नवलपरासीको देवचुलीस्थित दिव्य मध्यवर्ती सामुदायिक वनमा व्यवस्थापन गरिएका शवको सुरक्षाका लागि तारजाली लगाइएको छ । जंगली जनावरले शव उत्खनन गर्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा यस्तो व्यवस्था गरिएको छ ।
बाढीमा पालुङटार नगरपालिकाका बासिन्दासमेत ज्यान गुमाउनुका साथै सम्पर्कविहीन भएपछि नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ । नगरभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा वित्तीय संस्था बन्द रहनेछन् । उता, बाढीबाट प्रभावित नुवाकोटका विद्यालयहरू पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् । विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
त्रिशूली नदीको बाढीबाट विदुर नगरपालिकाका ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् ।


