२०८३ भाद्र १८, बिहीबार ०६:४७

रसुवाको भोटेकोशीलगायत विभिन्न नदीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका मधेश प्रदेशका दुई जनाको शव पहिचान भएको छ। सप्तरी र महोत्तरीका एक–एक जनाको शव सम्बन्धित परिवारले पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार शवको पहिचान परिवारका सदस्यले अनुहार, कपडा, ट्याटु तथा शरीरमा रहेका अन्य विशेष चिन्हका आधारमा गरेका छन्। पहिचान भएका शव सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ । महोत्तरीबाट सम्पर्कविहीनमध्ये गौशाला नगरपालिका–१ का कुशल खपाङ्गी मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार खपाङ्गीको शव रसुवामा भेटिएको थियो ।

महोत्तरीबाट बाढीपछि १७ जना सम्पर्कविहीन भएकोमा हालसम्म सात जना परिवारको सम्पर्कमा आएका छन्। एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी १० जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीको भनाइ छ । खपाङ्गीको शव परिवारले सनाखत गरिसकेको र शव बुझ्न सम्बन्धित स्थानतर्फ जाने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको खडक नगरपालिका–५ का सन्तोष चौधरीको पनि बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ।

उनको शव पूर्वी नवलपरासीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ। परिवारका सदस्यले शवको सनाखत गरेपछि बुझ्नका लागि भरतपुर अस्पताल जाने तयारी भइरहेको बताइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र त्यसबाट उत्पन्न विपद्का कारण प्रदेशका विभिन्न जिल्लाबाट कुल १९५ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३३ जना सम्पर्कमा आइसकेका छन् भने दुई जनाको शव फेला परेको छ। अझै १६२ जनाको अवस्था अज्ञात रहेको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी सप्तरीबाट ४९ जना सम्पर्कविहीन भएका छन्।

त्यसमध्ये एक जना मात्रै सम्पर्कमा आएका छन्। पर्साबाट ४० जनामध्ये दुई, बाराबाट २५ जनामध्ये दुई, रौतहटबाट १९ जनामध्ये छ, सर्लाहीबाट २१ जनामध्ये तीन, महोत्तरीबाट १७ जनामध्ये सात, धनुषाबाट १४ जनामध्ये सात र सिरहाबाट १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ओमप्रकाश खनालका अनुसार मंगलबार साँझ ५ बजेसम्मको विवरणमा प्रदेशबाट प्रहरी कर्मचारीतर्फ सम्पर्कविहीन १० जनामध्ये सात जना सम्पर्कमा आएका छन्। त्यस्तै नेपाली सेनामा कार्यरत तीन जनामध्ये एक जना सम्पर्कमा आएको विवरण छ ।

नेपाल प्रहरीका अनुसार बाढी तथा अन्य विपद्सँग सम्बन्धित घटनामा फेला परेका शवमध्ये ९५ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले विभिन्न जिल्लामा गरी ९५ शव परिवारलाई बुझाइएको जानकारी दिए। उनले शव हस्तान्तरणको एकीकृत विवरण केन्द्रीय कार्यालयमा नरहेको र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट तथ्यांक व्यवस्थापन भइरहेको बताए । प्रहरीका अनुसार हालसम्म देशभर १ हजार ११८ शव फेला परिसकेका छन्। तीमध्ये भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा मात्रै ११९ वटा शव फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । बाढीका कारण ठूलो मानवीय क्षति भएपछि विभिन्न जिल्लामा बेपत्ता व्यक्तिको खोजी तथा पहिचानको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।

यसरी गरिदैँछ डिएनए परिक्षण शव गलेको, कतिपयको अनुहार चिन्न नसकिने अवस्था रहेको र कतिपयको शरीरका केही अङ्गमात्र फेला परेकाले शव पहिचानमा कठिनाइ भएकाले सरकारले डीएनए परीक्षण गरी शव पहिचान गर्ने र परिवारका सदस्यलाई हस्तान्तरण गरिरहेका छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले बाढीमा बेपत्ता भएका व्यक्तिको बाबु, आमा, छोरा वा छोरीलाई सम्भावित डीएनए दाताको सूचीमा राखेको छ ।

उनीहरुको रगतको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरी सोही डीएनएसँग मिल्दो डीएनए रिपोर्ट रहेको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने भएको छ । सम्बन्धित परिवारका सदस्यले डीएनए परीक्षण अघि नेपाल प्रहरीलाई सम्पर्क गर्नुपर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले प्रस्ट पारेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका अनुसार नेपालमा आफन्तहरु हराएको व्यक्तिको आमाबाबु वा बच्चाले डीएनए प्रोफाइलिङको लागि ताजा रगतको नमुना उपलब्ध गराउन सक्नेछन् ।

नमुना दिने आफन्तले दुई पासपोर्ट साइजको फोटो ल्याउनु पर्ने जनाइएको छ

Comment

Related News

Latest News

Trending News