महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवामा चम्पा देवीमाईको मन्दिर निर्माणलाई लिएर विवाद चर्किएको छ ।
स्थानीय दलित समुदायले गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले जातीय विभेद गर्दै आफ्नो कुलदेवीको मन्दिर बनाउन अवरोध गरेको आरोप लगाएका छन्। अध्यक्ष यादवले भने आफूले कुनै किसिमको विभेद नगरेको र पुरानै विवाद थप नबढोस् भनेर निर्माण रोकिएको दाबी गरेका छन् । दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै आएको चम्पा देवीमाईको मन्दिर पोखरीको डिल क्षेत्रमा निर्माण गर्न खोजेपछि गाउँपालिकाले रोक लगाएको उनीहरूको भनाइ छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दासलगायतले आफूहरूलाई मन्दिर निर्माणबाट रोकिएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरे । उनीहरूका अनुसार उक्त स्थानमा हलुवाई समुदायले पूजा गर्ने गणिनाथ भगवान गोविन्दको मन्दिर भने निर्माण गर्न दिइएको छ। स्थानीयको दाबीअनुसार उक्त मन्दिरका लागि गाउँपालिकाबाट लगातार दुई आर्थिक वर्षमा प्रतिवर्ष १० लाख रुपैयाँका दरले बजेटसमेत उपलब्ध गराइएको छ। प्रदेश सरकारले पनि गत वर्ष २५ लाख रुपैयाँ विनियोजन गरेको उनीहरूले बताएका छन् ।
दलित समुदायका प्रतिनिधि राजेश दासले एउटै क्षेत्रमा एउटा समुदायका लागि मन्दिर निर्माण गर्न अनुमति दिने र अर्को समुदायलाई कानुनी प्रावधान देखाएर रोक लगाउने कार्यमाथि प्रश्न उठाए। उनका अनुसार यदि पोखरीको पैनी क्षेत्र भएकै कारण निर्माण गर्न नमिल्ने हो भने सोही स्थानमा निर्माण गरिएको हलुवाई समुदायको मन्दिरबारे पनि समान कानुनी मापदण्ड लागू हुनुपर्ने माग उनीहरूको छ । गणेश दास तत्माले आफूहरूलाई कानुनको नाममा रोक लगाइएको अवस्थामा सोही आधारमा अन्य संरचनामाथि पनि छानबिन हुनुपर्ने बताए।
उनका अनुसार मन्दिर निर्माणको विषयलाई लिएर विवादका क्रममा कुटपिटसमेत भएको छ। कुटपिटबाट एक व्यक्तिको नाकको हड्डी भाँचिएको दाबी गर्दै उनले उपचारसम्बन्धी कागजात हुँदाहुँदै प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाए । स्थानीय दलित समुदायले गाउँपालिका अध्यक्षसँगै जिल्ला प्रशासन कार्यालयको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। गाउँपालिकाबाट निर्माण रोकिएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेको र त्यहाँबाट पनि मन्दिर निर्माण नगर्न भनिएको उनीहरूको आरोप छ ।
भदौ १६ गते भएको छलफलका क्रममा आफूहरूलाई मन्दिर अन्यत्र सार्न दबाब दिइएको तथा मुद्दा अघि बढाए कारबाहीको चेतावनी दिइएकोसमेत उनीहरूले बताएका छन्। घटनामा जातीय विभेद, कुटपिट तथा धम्की भएको भन्दै उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न राष्ट्रिय दलित आयोगसँग माग गरेका छन् । गाउँपालिका अध्यक्ष रामजानकी यादवले भने दलित समुदायमाथि आफूले कुनै विभेद नगरेको स्पष्ट पारेका छन्। उनका अनुसार चम्पा देवीमाईको मन्दिर निर्माण गर्न खोजिएको स्थानमा यसअघि नै हलुवाई समुदायको गणिनाथ मन्दिर रहेको छ । अध्यक्ष यादवका अनुसार प्रस्तावित नयाँ मन्दिर उक्त संरचनाबाट करिब १० फिटको दूरीमा निर्माण गर्न खोजिएको थियो। एउटै स्थानमा दुईवटा मन्दिर निर्माण गर्दा पहिलेदेखि कायम रहेको विवाद थप गहिरिने सम्भावना भएकाले निर्माण रोकिएको उनको भनाइ छ ।
उनले दलित समुदायका लागि वैकल्पिक स्थानमा भूईयाँ महाराजको मन्दिर निर्माण गर्न जग्गा उपलब्ध गराउनुका साथै बजेटको व्यवस्था गर्न आफूहरू तयार रहेको बताए। तर प्रस्तावित स्थानमै मन्दिर बनाउनुपर्ने अडानका कारण विवाद बढेको अध्यक्ष यादवको दाबी छ । प्रमुख जिल्ला अधिकारीले पनि शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन दुवै पक्षलाई सम्झाउने प्रयास गरेको भन्दै अध्यक्ष यादवले घटनालाई जातीय विभेदको विषयका रूपमा प्रस्तुत गर्नु उचित नभएको बताएका छन् ।
मन्दिर निर्माणको विषय अहिले दुई समुदायबीचको विवादसँगै समान कानुनी व्यवहार, सार्वजनिक जग्गाको प्रयोग र स्थानीय तहबाट बजेट विनियोजनको विषयमा समेत प्रश्न उठ्ने अवस्थामा पुगेको छ ।


