प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिका र प्रगतिशील कृषक समूह औरही– ४ बिच १५ लाख रुपैयाँ लागतमा माछा पकेट विकास कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको थियो। उक्त कार्यक्रमअन्तर्गत माछाको भुरा, दाना, चुनालगायतका सामग्रीहरू तोकिएको मापदण्ड र सम्झौताअनुसार किसानहरूलाई वितरण नगरी कम परिमाणमा वितरण गरिएको अख्तियारको दाबी छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, पशु शाखा प्रमुख पशु अधिकृत रमेशनारायण शर्मा, लेखापाल आशिषकुमार कामती र कृषक समूहका अध्यक्ष रामभजन यादवले मिलेमतोमा काम पूरा भएको भनी झुट्टा बिल भर्पाइ तयार पारी गाउँपालिकालाई आठ लाख दुई हजार ८७८ रुपैयाँ हानि पुर्याएको आरोपपत्रमा उल्लेख छ।


