भोटेकोशी नदीमा आएको बाढीले महाविपत्तिको रुपमा लिएपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहीन नै छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार रसुवामा करिब २८० र नुवाकोटमा ३०० देखि ३५० विद्यार्थी सम्पर्कविहीन रहेको अनुमान गरिएको छ ।
नुवाकोट शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार विद्यार्थीको यकिन विवरण संकलन भइरहेको छ । ‘प्रधानाध्यापकहरूसँग सम्पर्क गरेर हराएका विद्यार्थीको तथ्यांक मागिरहेका छौँ । कतिपय सम्पर्कविहीन भनिएका विद्यार्थी भेटिएका छन् भने केही विद्यालयबाट थप विद्यार्थीको विवरण पनि आइरहेको छ,’ उनले भने । रसुवा इकाइका प्रमुख दुर्गाप्रसाद सिलवालले जिल्लामा करिब २८० विद्यार्थी सम्पर्कविहीन रहेको बताए । उनीहरूको अवस्था भने आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले जानकारी दिए ।
दुवै जिल्लामा विद्यार्थीको नामावलीसहितको यकिन विवरण संकलन भइरहेको छ । नुवाकोटको विदुर नगरपालिकामा मात्रै करिब २५० विद्यार्थी सम्पर्कविहीन रहेको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले बताए। नगरपालिकामा १४२ सामुदायिक र २८ निजी गरी १७० विद्यालय छन् । बाढीपछि रसुवा र नुवाकोटका २२ शिक्षक तथा विद्यालय कर्मचार ीसमेत सम्पर्कविहीन भएका छन् । रसुवामा सामुदायिक विद्यालयका १५ र निजी विद्यालयका एक गरी १६ जना तथा नुवाकोटमा सामुदायिकतर्फ चार र निजी विद्यालयतर्फ दुई शिक्षक सम्पर्कविहीन रहेको सम्बन्धित इकाइले जनाएको छ । सम्पर्कविहीनमध्ये केही विद्यार्थी तथा शिक्षकका शव विभिन्न जिल्लामा फेला परे पनि यकिन संख्या पुष्टि हुन सकेको छैन ।
नुवाकोटको विदुर नगरपालिका–१० स्थित उत्तरगया पब्लिक स्कुल बाढीले पूर्ण रूपमा बगरमा परिणत भएको छ । विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक सोमलाल लावतका अनुसार विद्यालयमा ३६२ विद्यार्थी अध्ययनरत थिए । विद्यालय र अभिभावकसँग सम्पर्क हुन नसकेकाले कति विद्यार्थी बाढीमा परे भन्ने यकिन हुन सकेको छैन । रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा ४९६ विद्यार्थी अध्ययनरत थिए । विद्यालयले २०० विद्यार्थी र चार शिक्षक सम्पर्कमा नरहेको जनाएको छ । प्रधानाध्यापक माधव लामिछानेका अनुसार अभिभावकसमेत बाढीमा परेकाले विद्यार्थीको नामावलीसहितको यकिन विवरण तयार गर्न कठिन भएको छ ।
भदौ १० गतेको भोटेकोशी बाढीपछि नुवाकोटको विदुर नगरपालिका तथा रसुवाका चार स्थानीय तहका विद्यालय नौ दिनदेखि बन्द छन् । रसुवाको नौकुण्ड गाउँपालिकाका २९ सामुदायिक विद्यालय भने सञ्चालनमा छन् । गोसाईंकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकाका विद्यालय बन्द छन् । आमाछोदिङ्मो गाउँपालिकाबाट मात्रै ५८ अभिभावक बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ । शिक्षा मन्त्रालयले जनाए अनुसार धादिङसहित तीन जिल्लाका २२ विद्यालय बाढीबाट क्षतिग्रस्त तथा प्रभावित भएका छन् । तीमध्ये १२ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयले क्षतिको मूल्यांकन गर्न तीनवटै जिल्लामा प्राविधिक टोलीसहित मूल्यांकन टोली पठाएको छ । टोलीले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र त्यसका आधारमा शैक्षिक गतिविधि सञ्चालनको योजना बनाइने मन्त्रालयले जनाएको छ ।


