गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा नौ दिनदेखि जारी उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र फसेका व्यक्तिबीच संवाद भएको छ।
उद्धार कार्यमा संलग्न टोलीका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको जनाइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ। सुरुङभित्र फसेकासँग प्रत्यक्ष संवाद हुनुलाई उद्धार कार्यका लागि महत्वपूर्ण र आशाजनक संकेत मानिएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको बताएका थिए।
त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नौ दिनदेखि निरन्तर खोज तथा उद्धार कार्य जारी छ।


