२०८३ भाद्र २०, शनिबार ०६:२०

दश दिनसम्म आशा र निराशाबीच बिताएको परिवारमा शुक्रबार अचानक खुसी फर्किएको छ ।

रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय सञ्जयकुमार साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र जीवितै भेटिएपछि परिवारजनको आँसु खुसीमा बदलिएको छ । गत भदौ १० गते बाढी आएपछि सम्पर्कविहीन भएका साहलाई नेपाली सेनासहितको उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट सकुशल उद्धार गरेको छ ।

उनी नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीका रूपमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । सञ्जयको उद्धारको खबर परिवारसम्म पुग्दा दश दिनदेखि घरमा छाएको सन्नाटा एक्कासी चिरिएको छ । छोरा र श्रीमानको अवस्थाबारे कुनै खबर नपाउँदा निरन्तर रोइरहेकी आमा कपुरदेवी र श्रीमती लक्ष्मीको आँखा खुसीका आँसुले भरिएका छन् । सुरुङबाट उद्धारमा भइरहेको ढिलाइसंगै परिवारको आशा क्रमशः कमजोर बन्दै गएको थियो । उनी सुरुङभित्रै हुन सक्ने अनुमान भए पनि समय बित्दै जाँदा सकुशल भेटिने विश्वासमा समेत शंका उत्पन्न हुन थालेको थियो । ‘भतिज सञ्जय सुरक्षित नै छन् भन्ने आशा थियो । तर, दिन बित्दै जाँदा सुरुङबाट उद्धारमा ढिलाइ हुँदा हाम्रो निराशा बढ्दै थियो,’ सञ्जयका काका कुशेश्वर साहले भने ।

सञ्जयलाई खोज्न उनका जेठान देवकुमार साह घटनास्थलमै पुगेका थिए । परिवारका सदस्यहरू पनि उनको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयासरत थिए । तर, लामो समयसम्म कुनै सम्पर्क स्थापित हुन नसक्दा उनीहरू बेचैन थिए । सञ्जय सुरुङभित्र जीवितै रहेको खबरले परिवारमा दश दिनदेखि चलिरहेको रुवाबासी अन्त्य भएको उनकी बहिनी सुधा साहले बताइन् । सुधाले सञ्जय दाई जीवितै भेटिएको खबरले बाढीपछि सम्पर्कविहीन भएका अन्य व्यक्तिका परिवारजनमा समेत नयाँ आशा पलाएको बताइन् । काका कुशेश्वरको कामना पनि उस्तै छ ।

भदौ १० गते बाढी आउनुअघि बिहान करिब ७ बजे सञ्जयले घरपरिवारसंग अन्तिम पटक कुरा गरेका थिए । त्यसपछि बाढी आएपछि उनको मोबाइलमा सम्पर्क हुन सकेन । सञ्जय सुरुङभित्रै रहेको हुन सक्ने आशा परिवारमा भने पूर्णरूपमा मरेको थिएन । यही आशाले परिवारलाई दस दिनसम्म धैर्य गर्न बल दिएको थियो । सञ्जय सम्पर्कविहीन भएपछि उनकी श्रीमती लक्ष्मीलाई सम्हालिन निकै कठिन भएको थियो । अहिले उनी माइतमा छिन् । सञ्जय–लक्ष्मीकी अढाई वर्षीया छोरी छन् ।

सञ्जय सुरक्षित भेटिएको खबरपछि उनका बाबु रामफल साह, आमा कपुरदेवीलगायत परिवारजन काठमाण्डुमा छन् ।

Comment

Related News

Latest News

Trending News