रसुवाको भोटेकोशी लगायतका विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका १७८ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म ३९ जना सम्पर्कमा आइसकेका छन् भने तीन जनाको शव फेला परेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले शुक्रवार बिहानसम्म सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका आठवटै जिल्लाबाट अहिलेसम्म २२० जना सम्पर्कविहीन भएको छ । तीमध्ये ३८ जना सम्पर्कमा आएको र दुई जनाको मृत्यु भएको प्रहरीको अभिलेखमा उल्लेख छ । प्रहरीको विवरण अनुसार सप्तरी र बाराका एक–एक जनाको शव फेला परेको छ । यद्यपि, प्रहरीको तथ्यांकमा समावेश नभएका थप दुई घटनाबारे पनि जानकारी आएको छ । सप्तरीका संजय साह सम्पर्कमा आएको तथा महोत्तरीको गौशाला नगरपालिका–५ का कुशल खप्ताङ्गी मगरको शव फेला परेको विवरण प्रहरी अभिलेखमा समेटिएको छैन । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार प्रहरीलाई प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गरिएको हो ।
उनका अनुसार महोत्तरीको गौशालाका मगरको शव फेला परेको विषयमा प्रहरीलाई औपचारिक जानकारी प्राप्त भएको छैन । त्यसैगरी, शुक्रवार बिहान करिब साढे १० बजे सम्पर्कमा आएका सप्तरीका संजय साहबारे ढिलो जानकारी प्राप्त भएकाले उनको विवरण पनि तत्काल तथ्यांकमा समावेश हुन सकेन । मधेश प्रदेशका आठ जिल्लाबाट अझै १७८ जना सम्पर्कविहीन छन् । ३९ जना सम्पर्कमा आएका छन् भने तीन जनाको मृत्यु भएको हो । प्रहरीको तथ्यांकमा सप्तरी सबैभन्दा बढी प्रभावित जिल्लाका रूपमा देखिएको छ । त्यहाँ ५२ जना सम्पर्कविहीन रहेकामा तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ ।
त्यसपछि पर्सामा ४६ जना सम्पर्कविहीन रहेको विवरण छ । तीमध्ये तीन जना सम्पर्कमा आइसकेका छन् । बारामा ३० जना सम्पर्कविहीन रहेकामा चार जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । रौतहटबाट २० जना सम्पर्कविहीन भएकामा छ जना सम्पर्कमा आएका छन् । सर्लाहीका २७ जना सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् । महोत्तरीमा १७ जना सम्पर्कविहीन रहेकामा सात जना सम्पर्कमा आइसकेका छन् । त्यस्तै, धनुषाका १४ जना सम्पर्कविहीनमध्ये सात जना सम्पर्कमा आएका छन् भने सिरहाका १४ जनामध्ये दुई जना सम्पर्कमा आएको प्रहरीको विवरणमा उल्लेख छ ।
बाढीपछि सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षा निकायका कर्मचारीसमेत रहेका छन् । प्रहरीतर्फ १० जना कर्मचारी सम्पर्कविहीन रहेकोमा आठ जना सम्पर्कमा आइसकेका छन् । नेपाली सेनातर्फ भने पाँच जना सम्पर्कविहीन रहेकोमा एक जना सम्पर्कमा आएका छन् । रसुवाको बाढीमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारलाई तीव्र बनाइएको छ ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सम्बन्धित निकायबीच आवश्यक समन्वयको कार्य निरन्तर भइरहेको जनाएको छ ।


