चोरी भएको मोटरसाइकल लिएर भारतमा पुगेका एक नेपाली नागरिक बिहारको मोतीहारी जिल्लाबाट पक्राउ परेका छन्।
भारत–नेपाल सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँचका क्रममा झरोखर थाना प्रहरीले शुक्रबार छितरौली गाउँनजिकबाट रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका २५ वर्षीय शेख कलीमुल्लाहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सवारीसाधन जाँच गर्ने क्रममा एचएचडी मेसिनबाट मोटरसाइकलको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गर्दा दुवैमा भिन्नता भेटिएको थियो। त्यसपछि मोटरसाइकलको थप विवरण रेकर्डसँग मिलान गर्दा उक्त मोटरसाइकल चोरीसम्बन्धी घटनामा पहिले नै दर्ता भएको खुलेको हो।
प्रहरीले मुजफ्फरपुरको सदर थाना काण्ड नम्बर ७९१र२१ मा सो मोटरसाइकल चोरीसम्बन्धी मुद्दा दर्ता रहेको जनाएको छ। सवारीसाधनको सत्यापनपछि मोटरसाइकल चोरीको भएको पुष्टि भएसँगै कलीमुल्लाहलाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा सवारीसाधनको नम्बर र चेसिस परिवर्तन गरी चोरीका मोटरसाइकल ओसारपसार हुने गरेको आशंकाबीच पछिल्लो पक्राउलाई प्रहरीले सीमा क्षेत्रमा बढाइएको निगरानीको परिणामका रूपमा लिएको छ। यद्यपि, पक्राउ परेका कलीमुल्लाहको संलग्नता र मोटरसाइकल कसरी उनको हातमा पुगेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
भारतीय प्रहरीले कलीमुल्लाहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


