२०८३ भाद्र २०, शनिबार १७:३३

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा प्रचण्डले बाढी आएको लामो समयपछि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै उद्धार कार्यलाई अझ घनीभूत गर्न सकेको भए थप मानिसको ज्यान बचाउन सकिने अवस्था देखिएको बताउनुभयो ।

आगामी दिनमा विपद् व्यवस्थापन र उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ । प्रचण्डले त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउने प्रवृतिले कर्मचारीको मनोबल उच्च रहन नसक्ने भन्दै असल नेतृत्व, समर्पण, नीति तथा योजनाको सही कार्यान्वयनमार्फत उत्प्रेरित र कर्तव्यनिष्ठ बनाउने धारणा राख्नुभयो । विपद्को घडीमा त्रास देखाएर नभइ कर्मचारीहरूलाई अझ बढी प्रेरित र जिम्मेवार बनाएर निष्ठापूर्वक काममा खटाउनुपर्नेमा उहाले जोड दिनुभयो । प्रचण्डले हाल देशको राजनीति, कर्मचारी संयन्त्र र राज्यका सम्पूर्ण निकायहरूमा एक प्रकारको अन्योल, अनिश्चय र अस्थिरताको अवस्था देखिएको उल्लेख गर्नुभयो ।

सरकारलाई सुरुदेखि नै ‘राम्रो काम गरे समर्थन र सहयोग, नराम्रो गरे विरोध र आलोचना’ गर्ने नीति राखिएको भए पनि हाल सरकारका लक्षणहरू सकारात्मक नदेखिएको टिप्पणी गर्नुभयो । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि राजनीतिक नेतृत्व, कर्मचारी, नागरिक समाज र आम जनता सबै सचेत हुनुपर्ने खाँचो रहेको उहाको भनाइ छ ।

Comment

Related News

Latest News

Trending News