प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शनिबार देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता छ । त्रेतायुगमा भगवान् कृष्णको जन्म भएको धार्मिक विश्वासको आधारमा कृष्णजन्माष्टमी भदौ महिनाको अष्टमी तिथिमा उत्सवको रूपमा मनाइने गरिन्छ । सोही अनुसार जनकपुरधामसहित देशव्यापी रुपमा राधाकृष्णसहितको प्रतिमा स्थापना गरी कृष्णजन्माष्टमी पर्व मनाइएको छ ।
जनकपुरधाममा विभिन्न चोकमा समेत राधाकृष्णको माटोको प्रतिमा स्थापना गरी धुमधामसाथ कृष्णाष्टमी मनाइएको छ । रेल्वे स्टेसन चोक, विसहारा चोक, मुरलीसर विद्यापति चोक, विश्वकर्म चोकसहितका चोकमा कृष्णाष्टमी मनाइएको छ । रेल्वे स्टेसनमा रेल्वे स्टेसन युवा कमिटीले ३० औँ वर्षदेखि कृष्णाष्टमी मेला आयोजना गर्दै आएको छ । सो अवसरमा रेल्वे स्टेसन एरियामा भव्यताका साथ मेलासमेत लागेको छ ।
माटोको कृष्ण, राधा, यशोदा, वासुदेवलगायत अन्य देवीदेवताका कलात्मक प्रतिमा बनाउन एक लाखभन्दा बढी रुपैयाँ खर्च लाग्दै आएको छ भने सम्पूर्ण पूजा व्यवस्थापनसहित मेला लगाउन पाँच लाख रुपैयाँ खर्च भएको समितिका संयोजक शत्रुघ्न साहले जानकारी दिए । समितिले प्रतिमा स्थापना गरेर रमणीय पण्डाल बनाउनुका साथै मेलामा भजनकीर्तनको समेत व्यवस्था गरिएको साहले जानकारी गराए । बिहीबारबाट हुने पूजाका लागि बुधबार नै कुम्हारकहाँबाट प्रतिमा पूजास्थलमा लगिएको छ ।
कृष्णाजन्मष्टमीका लागि प्रतिमा घरमा बसाएर तथा टोलहरूमा सामूहिक रूपमा पूजापाठ गरिएको स्थानीय मनोज झाले बताए । मधेशमा सरस्वती पूजा, दशँै र विश्वकर्मा पूजामा माटोको प्रतिमा स्थापना गरी पूजा गरिएझैँ कृष्णजन्माष्टमीमा पनि प्रतिमा स्थापना गर्ने सदियौँको परम्परा रहेको झाले बताए । धनुषासहित मधेश प्रदेशकै विभिन्न गाउँमा युवाहरूले चन्दा संकलन गरी प्रतिमा स्थापना गरेर पूजा गर्ने गरेका छन् । प्रतिमाहरूको मूल्य पाँच हजार देखि करिब एक लाख रुपैयाँसम्म हुने कुम्हाले रामलोचन पण्डितले बताए ।
कृष्णाष्टमीको पहिलो दिन शुक्रबार राधाकृष्णको प्रतिमा विधिवत् स्थापना गरी राति १२ बजेदेखि नै कृष्णजन्माष्टमी मनाउने गरिन्छ । शनिबार जन्मोत्सवको अवसरमा धुमधामसाथ मेला आयोजना गर्ने र घरमा पूजा गर्नेहरूले दिनभरि पूजाअर्चना गर्दै रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने र आइतबार प्रतिमालाई जलाशयमा सेलाउने धार्मिक परम्परा रहेको छ ।


