२०८३ भाद्र २२, सोमबार ०७:२५

पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ परेका छन् ।

पर्सा प्रहरीले गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा छापा मारेर जुवा खेलिरहेका चार नेपाली र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन् । पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्सा प्रहरीले जनाए अनुसार आफ्नो कार्यक्षेत्र छाडेर वीरगञ्जस्थित क्यासिनोमा जुवा खेल्न पुगेका अवस्थामा पौडेललाई पक्राउ गरिएको छ ।

गाउँपालिका अध्यक्ष यादव पनि क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पर्सा प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले अनुसार वीरगञ्ज– १४ गण्डकस्थित क्लार्क होटल परिसरमा सञ्चालित क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो। नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाउने कार्य गैरकानुनी भएकाले सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेको थियो । अवैध ढंगले नेपालीलाई क्यासिनो प्रवेश गराइ जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचार ीसमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाए अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले क्यासिनोमा नेपाली नागरिक कसरी प्रवेश पाए, उनीहरूलाई जुवा खेल्न कसले र कुन प्रक्रियाबाट अनुमति दियो तथा कर्मचारीको संलग्नता कुन तहसम्म थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ । वीरगञ्जका क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेल्ने घटना भने नयाँ होइन । यसअघि पनि मध्यरातमा क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई गैरनेपाली नागरिकको नाममा प्रवेश गराइएको आरोपमा प्रहरीले पक्राउ गरेको घटना सार्वजनिक हुँदै आएका छन् ।

क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि परिचय लुकाएर वा गैरनेपालीको नाममा नेपाली नागरिकले जुवा खेल्ने गरेको आरोप विगतदेखि नै लाग्दै आएको छ । यसले क्यासिनोमा प्रवेश गर्ने व्यक्तिको पहिचान परीक्षण, अभिलेख व्यवस्थापन र सरकारी निकायको अनुगमन प्रभावकारी नभएको प्रश्न उठाउँदै आएको छ । पछिल्लो घटनाले भने समस्या सर्वसाधारणमा मात्र सीमित नभइ जनप्रतिनिधिदेखि प्रहरी अधिकारीसम्म पुगेको देखाएको छ । गाउँपालिका अध्यक्ष र कार्यक्षेत्रभन्दा बाहिर गएर क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक पक्राउ परेपछि क्यासिनोको नियमन र अनुगमनप्रति थप प्रश्न उठेको छ ।

क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने कानुनी व्यवस्थाको कार्यान्वयनका लागि क्यासिनो सञ्चालकले प्रवेशद्वारमै कडा पहिचान परीक्षण गर्नुपर्ने हुन्छ । तर पटकपटक नेपाली नागरिक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नुले त्यस्तो व्यवस्था व्यवहारमा कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायका कर्मचारी नै क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नुले व्यक्तिगत आचरणसँगै नियमनकारी संयन्त्रको प्रभावकारितामाथि समेत बहस शुरु भएको छ । विगतका घटनामा पनि नेपाली नागरिकलाई गैरनेपालीको पहिचान प्रयोग गरेर क्यासिनो प्रवेश गराइएको आरोप लाग्दै आएको थियो ।

सरकारी स्कोर्पियोसमेत नियन्त्रण

यस घटनामा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका थिए । पर्सा प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ । प्रहरीले जनाए अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाएको सूचना पाएपछि टोली परिचालन गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News