नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्सका मालिक भनिएका उत्सव सिग्देलले आफू सबै भूमिकाबाट अलग भएको सार्वजनिक घोषणा गरेका छन् । उनी करिब दुई महिनाअगाडि नै जनकपुर बोल्ट्सबाट बाहिरिएका उत्सवले आइतवार औपचारिक घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष तथा एनपीएलको गभर्निङ काउन्सीलका सदस्य पदम खड्काले जनकपुर बोल्ट्सले दुई महिना अगाडि नै जानकारी गराइसकेको बताए ।
उनले भने, ‘यो विषय क्यान र गभर्निङ काउन्सिलको जानकारीमा छ । त्यहाँ नयाँ सेयर होल्डर आउनु भएको होइन । उत्सवजीले छोडेको सेयर पहिलेकै ओनरहरुबीच बाँडफाँड गरिएको हो ।’ नेपाली क्रिकेटको चर्चित फ्रेञ्चाइज लिग क्रिकेट एनपीएल सिजन–३ सुरु हुन ५० दिन बाँकी रहेको बेला सिग्देलले सामाजिक सञ्जालमार्फत आफू टोलीबाट अलगिएको जनाएका हुन् । जनकपुर बोल्ट्स एनपीएल सिजन–१ को विजेता टोली हो । सामाजिक सञ्जाल फेसबुकमा सिग्देलले अब तत्काल लागु हुने गरी फ्रेन्चाइज तथा कम्पनीसँगको आफ्नो सबै क्लब परिचालनसँगको संलग्नता अन्त्य भएको बताएका छन् । उनले आगामी दिनमा जनकपुर बोल्ट्स वा ड्रीम स्पोट्र्स प्राइभेट लिमिटेडको व्यवस्थापन, प्रशासन, सञ्चालन, वित्तीय कारोबार, सम्झौता तथा करारसम्बन्धी निर्णय, खेलाडी र कर्मचारी व्यवस्थापनलगायत कुनै पनि विषयमा आफ्नो संलग्नता नरहने स्पष्ट पारेका छन् ।
उनले अबदेखि जनकपुर बोल्ट्स तथा ड्रीम स्पोट्र्ससँग सम्बन्धित कुनै पनि प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा आधिकारिक सञ्चारमा आफ्नो नाम प्रयोग नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । उनले लेखेका छन् ‘यस मितिपछि जनकपुर बोल्ट्स वा ड्रीम स्पोट्र्स प्राइभेट लिमिटेडको तर्फबाट गरिने कुनै पनि कार्य, निर्णय, प्रतिबद्धता वा दायित्वप्रति आफ्नो जिम्मेवारी रहने छैन ।’ जनकपुर बोल्ट्स निकट स्रोतका अनुसार उत्सवको आफ्नै नाममा सेयर थिएन । उनी अमेरिकी नागरिक भइसकेको हुँदा ‘सेयर होल्डर’ बन्न नसकेका हुन् । उनले खरिद गरेको सेयर आफ्नो बुवाको नाममा राखेका थिए । फ्रेन्चाइजको व्यवस्थापन भने उनले सम्हाल्दै आएका थिए ।
सो फ्रेन्चाइजमा उत्सवसहित तीनजना सेयर होल्डर थिए । अहिले बाँकी दुईजनाले उत्सवको बुवाको नाममा रहेको सेयर -करिब ३५ प्रतिशत आसपास) खरिद गरेका छन् । उनीहरुमध्ये एकजना अमेरिकी नागरिक नै भएको बताइएको छ । निजले पनि बुवारआमाकै नाममा सेयर राखेका छन् । अर्का भने नेपाली नागरिक हुन् । एनपीएल फ्रेन्चाइजीको स्वामित्व परिवर्तन गर्नुपर्दा अवस्थामा क्यानसँग पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । क्यानले पनि आइसीसीलाई जानकारी गराउनुपर्छ । तर साविककै मालिकबीच सेयर खरिदबिक्री हुँदा त्यस्तो जटिलता छैन । क्यानलाई जानकारी गराए पुग्छ । एनपीएल फ्रेन्चाइजमा सेयर खरिदबिक्री भएको सम्भवत पहिलोपटक हो । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।


