भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव प्राप्त भएको र ४ हजार ९ सय १६ जना अझै पनि सम्पर्कविहीन रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले सो देखाएको हो ।
प्राधिकरणकाअनुसार सोमबार बिहान ११ बजेसम्म फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६३ जना, नवलपरासी पूर्वमा २२२ जना, नवलपरासी पश्चिममा २ सय २१ जना, नुवाकोटमा १९७ जना र रसुवामा १ सय ६९ जना रहेका छन् ।
यस्तै गोरखामा ७५ जना, धादिङमा ७० जना र तनहुँमा ३८ जनाको शव फेला परेको छ भने कतिपय शवहरूमा विभिन्न मानव अङ्गहरू मात्र समेत समाविष्ट छन् ।
यसरी फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको सफलतापूर्वक सनाखत भई बुझाइसकिएको प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोका कारण हालसम्म करिब ४ हजार ९ सय १६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा जिल्ला प्रशासन कार्यालय रसुवाको विवरण अनुसार १ हजार ९ सय ६७ जना र नुवाकोटको विवरण अनुसार २ हजार ३ सय ४० जना नेपाली नागरिक रहेका छन् ।
यसका अतिरिक्त करिब १ सय जना सुरक्षाकर्मी तथा कर्मचारी र ५ सय ९ जना विदेशी नागरिकहरू समेत अझै बेपत्ता छन् ।


