२०८३ भाद्र २२, सोमबार १४:२०

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेकअगाडि बोलेरो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान करिब ८ः१५ बजे पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना।५ च २२७७ नम्बरको खाली बोलेरो पिकअप आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। डिभाइडर पार गरेको पिकअप सडकको दाहिनेतर्फ पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पिकअप चालक पर्साको वीरगन्ज महानगरपालिका–३० प्रसोतिपुर बस्ने वकिल मिया अन्सारीका करिब २२ वर्षीय छोरा जैमुदिन अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा इसिजी गर्दा बिहान ८ः४५ बजे चिकित्सकले जैमुदिनलाई मृत घोषणा गरेका हुन्।

उनको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

त्यस्तै, पिकअपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका–९ बस्ने सुभान अन्सारीका करिब २० वर्षीय छोरा स्वयमभुला अन्सारी घाइते भएका छन्। उनको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट बरिष्ठ सई उमेश निरौलाको कमाण्डमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो। त्यस्तै, इलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोली पनि घटनास्थलमा खटिएको थियो।

दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको पिकअप इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ।

Comment

Related News

Latest News

Trending News