२०८३ भाद्र २४, बुधबार ०७:२५

जनकपुरधाम उपमहानगरपालिकाभित्रका पोखरी तथा तिनका डिल अतिक्रमणमुक्त बनाउने अभियानलाई गुठी संस्थानले तीव्र पारेसँगै त्यसको विरोधमा स्थानीय सडकमा उत्रिएका छन् । जनकपुरधाम–१४ मा पर्ने लबकी पोखरीको डिलनजिक घर बनाएर बस्दै आएका स्थानीयले गुठी संस्थानले मापदण्ड र कानुन विपरीत आफूहरूको घर भत्काउन खोजेको आरोप लगाएका छन् ।

उनीहरूले गुठीको रेखाङ्कन नै गलत भएको दाबी गर्दै अभियान रोक्न माग गरेका छन् । वडा सदस्य रमेश साहको अगुवाइमा स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत जनकपुरधाम– ढल्केवर सडकखण्डको पिडारी चोकमा बिहानैदेखि घण्टौँ सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले कडा रुपमा नारावाजी गर्दै मापदण्डविपरीतको अभियान बन्द गर्नुपर्ने र २०६२ सालको प्रतिवेदन खारेज गर्नुपर्ने तथा ‘२०४६ को नक्सा कायम गर’ लगायतका नारा लगाएका थिए । वडा सदस्य साहले लबकी पोखरी गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गरे । उनले बताए अनुसार आफू लगायत करिब ४२ परिवार ७० वर्षभन्दा लामो समयदेखि सो क्षेत्रमा घर बनाएर बस्दै आएका छन् । साहले भने, ‘जग्गासम्बन्धी विभिन्न कागजात र प्रमाण हुँदाहुँदै गुठीले कानुनविपरीत रेखाङ्कन गरेर घर भत्काउन खोजेको छ ।’ स्थानीय श्याम यादवले पनि गुठीले आफ्नो स्वामित्वमै नरहेको जग्गामा बलजफती दाबी गरेर घर भत्काउन खोजेको आरोप लगाए । ‘यदि हामीले मापदण्ड वा कानुनविपरीत घर बनाएका रहेछौँ भने अवरोध गर्दैनौँ । तर गुठीको जग्गा नै नभएको ठाउँमा दाबी गरेर घर तोड्न खोज्नु अन्याय हो,’ उनले भने ।

प्रदर्शनमा सहभागी विन्देश्वर देवी दासले आफूहरू तीन पुस्तादेखि सोही घरमा बस्दै आएको बताइन् । उनले गुठीको जग्गामा ठूला भवन बनाएर होटल तथा अस्पताल सञ्चालन गर्ने पहुँचवालामाथि कारबाही नगरी गरिबका घरमा मात्र डोजर चलाउन खोजिएको आरोप लगाइन् ।

यता, गुठी संस्थानले भने पोखरी तथा डिल अतिक्रमण हटाउने अभियान नापी कार्यालयले गरेको रेखांकन र नापनक्साका आधारमा सञ्चालन गरिएको जनाएको छ । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको २०६२ को प्रतिवेदन कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलले पहिलो चरणमा भत्काइएका संरचना नापी कार्यालयको रेखाङ्कनअनुसार नै हटाइएको दाबी गरे । उनले अभियानमा काखापाखा वा आर्थिक लेनदेन भएको आरोप अस्वीकार गरे । ‘हामीले कसैसँग काखापाखा वा आर्थिक लेनदेन गरेका छैनौँ । सम्बन्धित नापी कार्यालयले रेखाङ्कन गरिदिएको नापनक्साअनुसार संरचना हटाएका हौँ,’ पोखरेलले भने । गुठी संस्थानको धनुषा शाखाले गत भदौ ६ गते जनकपुरधामका सात वटा पोखरीका डिलमा रहेका संरचना डोजर लगाएर हटाएको थियो । त्यसको १४ दिनपछि दोस्रो चरणअन्तर्गत १५ वटा पोखरी तथा तिनका डिल सात दिनभित्र खाली गर्न सूचना जारी गरिएको छ ।

सूचीमा देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर -विराही), गेन्ही पोखरी, ठाडी पोखरी, कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत छन् । तोकिएको अवधिमा संरचना नहटाए आठौँ दिनदेखि पुनः डोजर लगाएर अतिक्रमित संरचना भत्काइने गुठी संस्थानले जनाएको छ । यससँगै पोखरी संरक्षणको अभियान र वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयको अधिकारबीचको विवाद थप पेचिलो बन्दै गएको देखिन्छ ।

Comment

Related News

Latest News

Trending News