राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक बिपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् व्यवस्थापनमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न नहुने भन्दै सुरुवाती घन्टादेखि नै राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको दाबी समेत गर्नुभयो ।
उहाले अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको भन्दै संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय रहेको धारणा राख्नुभयो । उहाले भदौ १० को विपत्तिमा ज्यान गुमाउनेहरूलाई सामान्य प्राकृतिक विपत्तिका मृतक मात्र मान्न नसकिने र उनीहरू विश्वव्यापी जलवायु अन्यायका निर्दोष पीडित भएको धारणा राख्नुभयो ।
कार्बन उत्सर्जन र पृथ्वीको तापक्रम बढाउन नेपालको कुनै भूमिका नभए पनि जलवायु संकटको सबैभन्दा ठूलो मूल्य चुकाउन बाध्य भएका नागरिकहरूलाई मानव सभ्यताले विशेष दर्जा दिनुपर्ने उहाले बताउनुभयो । सभापति लामिछानेले प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको, हवाई उद्धार व्यापक रूपमा भएको र घरबारविहीनहरूलाई होल्डिङ सेन्टरमा राखेर राज्यले तत्कालीन जिम्मेवारी लिएको उल्लेख गर्नुभयो । उहाले सर्वस्व गुमाएका नागरिकको चित्कार र आक्रोश राज्यप्रतिको अन्तिम गुहार भएकाले त्यसलाई सुनेर आँसु पुछ्ने फराकिलो छाती राज्यसँग हुनुपर्ने बताउनुभयो ।
बिपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा साइबर बुलिङ नगर्न आग्रह गर्दै उहाले रास्वपाका कुनै पनि तहका सदस्य/पदाधिकारी यस्तो कार्यमा संलग्न भेटिए साधारण सदस्यतासमेत नरहने गरी तत्काल निष्कासन गरिने चेतावनी दिनुभयो ।
सभापति लामिछानेले राजनीतिक आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर सिंगो राष्ट्र एक भई पुनर्निर्माण र विश्वसामु जलवायु न्याय माग्न एकीकृत आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । उहाले अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न आग्रह गर्नुभयो ।


