नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गर्नुभएको छ ।
११३ औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गर्नुभएको हो । उहाले भ्रममा परेका नेता तथा कार्यकर्तालाई यथार्थ बुझाएर एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गर्नुभयो । आफु काठमाडौँ आउँदा नागरिक तथा इमानदार कार्यकर्ताबाट प्राप्त अपार माया र समर्थन कुनै व्यक्तिविशेषको नभई समग्र पार्टीको शक्ति भएको उहाले बताउनुभयो । उहाले विशेष महाधिवेशनमा प्रतिनिधिको विधिवत पहिचान र आवश्यक सनाखत नभएको तथा खल्तीबाट नाम राखेर अवैध रूपमा महाधिवेशन गरिएको आरोप लगाउनुभयो ।
त्यस्तै अन्य संस्थापनइतर समूहका नेताहरुले आफुहरुले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारीक रुपमा आफुहरुले नै महाधिवेशन गर्ने जनाएका छन् ।
त्यस्तै कांग्रेस नेता शशांक कोइरालाले देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध बनाएर सफल बनाउनुपर्ने बताउनुभयो । अहिले पार्टी टुक्रिने सम्भावना पनि देखिएको भन्दै अर्को पक्षलाई पनि साथमा लिएर अघि बढ्ने प्रयास भइरहेको उहाको भनाइ छ ।
त्यस्तै अन्य नेताहरुले १४ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने महाधिवेशन नै आधिकारीक हुने दावी गरेका छन् ।


