२०८३ भाद्र २५, बिहीबार ०७:०७

राष्ट्रिय वाणिज्य बैंकको महोत्तरीस्थित बलवा शाखामा सेवाग्राहीको खाताबाट ५ लाख ४९ हजार रुपैयाँ अनधिकृत रूपमा निकासा भएको घटनाले बैंकिङ सुरक्षा र आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

बलवा नगरपालिका–६ का रोशनकुमार महतोको राष्ट्रिय वाणिज्य बैंक बलवा शाखामा रहेको खाताबाट सोमबार पहिलोपटक २ लाख रुपैयाँ निकासा भएको थियो । मोबाइल बैंकिङमार्फत आफ्नो खाताबाट रकम निकालिएको जानकारी पाएपछि महतोले तत्काल बैंक शाखामा सम्पर्क गरी खाता रोक्का गर्न तथा रकम कसरी र कसले निकालेको हो भन्नेबारे छानबिन गर्न आग्रह गरेका थिए । महतोका आफन्त सन्तोषकुमार महतोका अनुसार बैंक शाखाले २ लाख रुपैयाँ निकासा भइसकेको जानकारी दिँदै थप रकम निकासा हुन नदिने आश्वासन दिएको थियो । तर, त्यसपछि पनि खातामा रहेको थप ३ लाख ४९ हजार रुपैयाँ निकासा भएको पीडित पक्षको दाबी छ ।

यसरी महतोको खाताबाट दुई चरणमा गरी कुल ५ लाख ४९ हजार रुपैयाँ निकालिएको बताइएको छ । पहिलो अनधिकृत कारोबारबारे बैंकलाई तत्काल जानकारी गराइसकेपछि पनि बाँकी रकम कसरी निकासा भयो भन्ने विषय अहिले घटनाको मुख्य प्रश्न बनेको छ । पीडित पक्षले रकम फिर्ता गराउन, अनधिकृत कारोबारमा संलग्न व्यक्तिको पहिचान गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायत सम्बन्धित निकायमा उजुरीसमेत दिएको जनाएको छ । सेवाग्राहीले आफ्नो खाताबाट अनधिकृत कारोबार भएको जानकारी गराएपछि बैंकले तत्काल सुरक्षा प्रक्रिया अघि बढाउनुपर्ने भए पनि बाँकी रकमसमेत निकासा हुन पुगेको घटनाले बैंकको तत्कालीन प्रतिक्रिया र सुरक्षा संयन्त्रमाथि प्रश्न खडा गरेको छ ।

विशेषगरी पहिलो कारोबारबारे जानकारी पाएपछि खातालाई तत्काल रोक्का गरिएको थियो वा थिएन, बैंकको आन्तरिक प्रणालीबाट थप कारोबार रोक्ने प्रयास भयो कि भएन र दोस्रो निकासी कुन माध्यमबाट सम्भव भयो भन्ने विषय अनुसन्धानको महत्वपूर्ण पाटो बन्ने देखिन्छ । बलवा शाखाको घटनाले राष्ट्रिय वाणिज्य बैंकको महोत्तरीस्थित शाखाहरूमा आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन प्रणालीको प्रभावकारिताबारे प्रश्न उठाइरहेका बेला केही महिनाअघि सार्वजनिक भएको जलेश्वर शाखाको ६० लाख रुपैयाँको विवादास्पद कर्जा प्रकरणले पनि बैंकको नियन्त्रण प्रणालीमाथि प्रश्न उठाएको थियो । राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाबाट फर्जी लालपुर्जा, रोक्का र लिखतका आधारमा लोहारपट्टी नगरपालिका–४ का श्रीनारायण साहको नाममा ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको प्रकरण सार्वजनिक भएको थियो ।

उक्त घटनामा बैंकका कर्मचारी र धितो मूल्यांकनकर्ताको भूमिकामाथि छानबिन सुरु भएको जनाइएको थियो । कर्जाका लागि पेश गरिएको जग्गाको वास्तविक बजार मूल्य १६ लाख ५० हजार रुपैयाँ मात्रै रहेको विवरण सार्वजनिक भएपछि प्रकरण थप विवादमा परेको थियो । सरकारी कार्यालयका छाप र कर्मचारीका हस्ताक्षरसमेत किर्ते गरिएको आरोपपछि भूमि प्रशासन कार्यालय र महोत्तरी प्रशासनले समेत चासो देखाएका थिए । घटनापछि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयले आन्तरिक छानबिन अघि बढाउँदै सम्बन्धित पाँच कर्मचारीलाई विभिन्न शाखामा सरुवा गरेको थियो । तत्कालीन शाखा प्रबन्धक प्रदीपकुमार झालाई मधेश प्रदेश कार्यालय वीरगञ्ज, सहायक शाखा प्रबन्धक प्रिया झालाई मिर्चैया तथा राकेश यादवलाई लालबन्दी शाखामा सरुवा गरिएको थियो । रोशन चौधरी र अजयकुमार यादवलाई क्रमशः कलैया र वीरगञ्ज शाखामा पठाइएको थियो ।

जलेश्वर र बलवा शाखाका घटना प्रकृतिका हिसाबले फरक भए पनि दुवैले राष्ट्रिय वाणिज्य बैंकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । जलेश्वरमा कर्जा प्रवाह गर्दा कागजात, धितो र रोक्का प्रमाणीकरण प्रणालीमाथि प्रश्न उठेको थियो भने बलवामा अनधिकृत कारोबारको जानकारी पाएपछि पनि खातामा रहेको बाँकी रकम सुरक्षित हुन नसकेको आरोप छ । एउटा घटनामा बैंकबाट ठूलो रकम बाहिरिँदा कागजात प्रमाणीकरण प्रणालीमाथि प्रश्न उठेको छ भने अर्को घटनामा खाताबाट अनधिकृत रकम निकालिएपछि तत्काल सुरक्षा प्रतिक्रिया किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न पीडित पक्षले बैंकमाथि गरेको छ ।

Comment

Related News

Latest News

Trending News