सरकारको कार्यशैलीविरुद्ध सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरू चर्को विरोधमा उत्रेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । तिनैध्येका एक हुन् डा. अमरेश कुमार सिंह । सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई चुनाव हराएर ‘घण्टी चुनाव चिह्न’बाट सदन छिरेका उनी संसद्मा आफ्नै सरकारले गरिरहेका गलत कामविरुद्ध खुलेर आलोचनामा उत्रेका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा अमरेशले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) तथा उनको सचिवालयको खुलेरै आलोचना गरे । यतिसम्म कि बालेन सरकार ‘गुण्डा शैली’मा देश चलाउन लागिपरेको सिंहले टिप्पणी गरे । यस्तै, प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेन (व्यञ्जनकार)को बढी नै आलोचना सुनियो । बेनकै कारण बालेनले ‘सिंहदरबारबाट सञ्चालन गर्नुपर्ने राज्यलाई ज्वागल’बाट चलाइरहेको सिंहको टिप्पणी छ । ललितपुर महानगरपालिकामा पर्ने ज्वागल बालेनका ‘राजनीतिक सारथी’ कुमार बेनको घर रहेको स्थल हो । बैठकको विशेष (८ मिनेट) समय लिएर बोलेका अमरेशले शुरूआतमै सरकार नेपालको संविधान अनुसार चल्न नसकेको आरोप लगाए । ‘यो संविधान मैले लिएर आएको छु, नेपालको संविधान हो ।
सरकार संविधानअनुसार चलिरहेको छैन’ संविधान देखाउँदै अमरेशले भने ‘किनकि हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौं । र, चुनावी मैदानमा जाँदाखेरि हामी संविधान बदल्छौं, त्यो पनि भनेका थिएनौं ।’ उनले संविधानले समावेशिताको ग्यारेन्टी गरेको भन्दै संविधानका चारवटा पिलर रहेको बताए । चारवटा पिलर’ गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि अहिले प्रहार भइरहेको अमरेशको भनाइ छ । त्यसपश्चात् अमेरशको प्रहार प्रधानमन्त्री र उनको सचिवालयतर्फ सोझियो ।
नेपालको संविधानले संसदीय व्यवस्था र प्रधानमन्त्री शासन व्यवस्था अंगिकार गरेको सिंहल स्मरण गराए । त्यसपश्चात् सल्लाहाकार बेनको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाउँदै अमरेशले हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेर आएको हो ? भन्दै प्रश्न गरे । उनले सिंहदरबारबाट भन्दा पनि कुमार बेनको निवास ज्वालबाट राज्यसत्ता सञ्चालन भइरहेको भन्दै थप आपत्ति जनाए । ‘सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ, तर सरकारको केन्द्र ज्वागल बनेछ । हुकुमी शासन चलिरहेको छ’ उनले अगाडि थपे ‘म यहाँ घटना उल्लेख गर्न चाहन्नँ कि सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कानपट्टिमा राति १ बजे पिस्तोल भिडाउँछ र भनिन्छ कि यसलाई दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर । म त्यो घटनाको पनि चर्चा गर्न चाहन्नँ, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ ।’ अमरेशले उद्योगमन्त्री (बिहीबार राजीनामा दिएकी) गौरीकुमारी यादवमाथि प्रधानमन्त्री तथा उनको सचिवालयले गलत व्यवहार गरेको भन्दै थप प्रश्न उठाए । उनले यादवलाई राजीनामा गराउन प्रधानमन्त्री र उनको सचिवालयले प्रहरी परिचालन गरेको आरोप लगाए । सिंहले सचिवालय र प्रधानमन्त्रीको हर्कत हेर्दा देशमा संविधानले परिकल्पना गरेको भन्दा बाहिरको ‘गुन्डाराज’ चलिरहेको गम्भीर आरोप लगाए । ‘यो सचिवालय र सचिवालयका केही साथीहरूको कुरा सुन्दाखेरि म आफैं झसङ्ग हुन्छु कि म कुन देशको सांसद हुँ ? सिंहको आरोप थियो ‘गुन्डाशैलीमा शासन, यो पनि संविधानले परिकल्पना गरेको छैन ।’ सांसद सिंहले आफूले उद्योग मन्त्रालयको अफर शुरूमै अस्वीकार गरेको पनि बताए । साथै, उनले वर्तमान सरकारले मधेशप्रति सद्भाव राख्न नसकेको उल्लेख गरे । मधेशको भोट र शक्तिमा बालेन सरकार ठडिएको भन्दै बालेनलाई तासको पत्तासँग उनले तुलना गरे ।
अमरेशले बालेन सरकार नबने आत्मदाह गर्छु भनेर आफूले भनेको स्मरण गर्दै मधेशलाई हेप्ने हो भने प्रधानमन्त्री बालेनको पतन निश्चित भएको दाबी गरे । उनले ‘अथोरिटी विदाउट अकाउन्टेबिलिटी’ साह्रै खतरनाक हुने भन्दै बेनको हर्कत र व्यवहारले आफ्नो शिर लाजले निहुँरिएको बताए । विशेषगरी बेन सुटुक्क भारत गएको र राजनीतिक समीकरण मिलाउन लागेको दाबी उनको थियो । बेनले जासुसी संस्थालाई भारतमा भेटेको भन्दै उनले ‘रअ’सँगको भेट संकेत गरे । अमरेशले फरक विषयमा’ रसुवाको बाढीमा शुरूदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरेको भए यति क्षति हुन नसक्ने धारणा राखे । उनले शुरूमा विदेशीलाई आह्वान गरेर उद्धार गर्न नसकेकोमा पनि सरकारको आलोचना गरे । उनले सरकारले किसानलाई मल दिन नसकेको तथा अर्कोतिर गृहिणीलाई ग्यास दिन नसकेको भन्दै आलोचना गरे । उनले स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेलको पनि आलोचना गरे ।


