स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानविन गर्न छानबिन टोली गठन गरि परिचालन गरिसकिएको जानकारी दिनुभएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री मेहताले घटना सार्वजनिक हुनेबित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा ५ सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको ११औँ तहका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझी सम्मिलित संयुक्त टोली गठन गरिएको जानकारी दिनुभयो । उक्त छानबिन टोलीलाई तत्काल सत्यतथ्य पत्ता लगाउन राजविराज पठाइएको र टोलीले त्यहाँ जाँचबुझ गरिरहेको उहाले बताउनुभयो । उहाले स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्स जोसुकैको गल्ती वा कमजोरी देखिए पनि मन्त्रालयले निर्मम भएर कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
बैठकमा सांसद रमेश मल्लले गजेन्द्रनारायण सिंह अस्पताल संघीय सरकार मातहतकै अस्पताल भएकाले त्यहाँ घटेको गम्भीर घटनाप्रति मन्त्री र सचिवको प्रत्यक्ष नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उक्त घटनामा संलग्न दोषीहरूमाथि मन्त्रालयले यथाशीघ्र छानबिन र अनुसन्धान गरी कडा कानुनी कारबाही अघि बढाउन उहाले माग गर्नुभयो ।
उहाले आगामी दिनमा सरकारी अस्पतालहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन मन्त्रालयसँग के–कस्ता योजना र ठोस प्रतिबद्धता छन् भनी स्पष्ट पार्न माग गर्नुभयो ।


