२०८३ भाद्र २७, शनिबार ०७:२२

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि सबैभन्दा बढी प्रहार गरेको आरोप लगाएका छन् । मधेशका जनताले ठूलो आशा र अपेक्षा गरेको शक्तिलाई सरकारमा ल्याएपछि पनि मधेशी जनताले झन् पीडा भोग्नुपरेको उनको भनाइ छ ।

सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाण्डु फर्किने क्रममा शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले सीमापारिबाट सामान ल्याउँदा कर लगाउनेदेखि आफ्नो भूमि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सीमामा खडा हुने मधेशी जनतालाई सरकारले अपमान गरेको आरोप लगाए । ‘राष्ट्रिय स्वाधीनताको रक्षा बोर्डरमा बसेर मधेशी जनताले गरे पनि भारतले नेपालको भूमि मिचेको विषयलाई लिएर मधेश र मधेशीमाथि नै प्रहार गर्ने काम भएको छ,’ उनले भने । उनले मधेशमा आएर कुनै पहाडीले मधेशको बोर्डरमा आएर न त जग्गा अतिक्रमण गरेको छ न त रक्षा नै गरेकोले यहाँका जनताले आफ्नो भूमि आफैले जोगाएको उनको भनाइ थियो । प्रचण्डले नयाँ सरकार गठन भएको करिब ६ महिनामै जनताले सरकारका कामकारबाहीबारे धेरै कुरा महसुस गर्न थालेको दाबी गरे ।

स्थापित राजनीतिक दललाई गलत भाष्य निर्माण गरी बदनाम गरेर बाहिर राख्दा त्यसको परिणाम के हुँदो रहेछ भन्ने जनताले बुझ्न थालेको उनको भनाइ थियो । उनले नयाँ सरकार बनेपछि सबैभन्दा पहिले गरिब, मजदुर र किसानमाथि प्रहार भएको आरोप लगाए । सीमाबाट सामान ल्याउने नागरिकदेखि मधेशी जनताको भावनामाथि समेत सरकारले प्रहार गरेको उनले बताए । प्रधानमन्त्री बालेन्द्र साहप्रति इंगित गर्दै ‘मधेशी जनताले मधेशी बच्चा भएकाले मधेशका लागि केही गर्छ भन्ने लागेको थियो । तर सबैभन्दा बढी प्रहार मधेश र मधेशीमाथि नै भएको छ,’ संयोजक प्रचण्डले भने । सरकारले ल्याएको बजेटले समेत मधेशप्रतिको विभेद पुष्टि गरेको उनको आरोप थियो । सरकारको कार्यशैलीप्रति मधेशी जनता आजित भइसकेको भन्दै उनले अब उनीहरू चुप लागेर बस्ने अवस्थामा नरहेको दाबी गरे । आफू विगतमा मधेशबाट निर्वाचन लडेको स्मरण गर्दै प्रचण्डले मधेशी जनताको मनोभाव आफूले नजिकबाट बुझेको बताए ।

सिरहामा ३५ वटा विद्यालयका सहभागी भएका विद्यार्थीहरुले गरेको विज्ञान प्रदर्शनीमा सहभागी किशोर तथा युवाहरूमा देखिएको उत्साह र राजनीतिक चेतनाले आफूलाई मधेशबाटै सरकारविरुद्ध विद्रोह उठ्न सक्ने संकेत दिएको उनको भनाइ थियो । ‘मधेशी जनता चेतनशील र संघर्षशील जनता हुन् । गलत नीति र क्रियाकलापविरुद्ध उनीहरू फेरि उत्रिन सक्छन्,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले जेन–जी पुस्ताका किशोर तथा युवाहरू पनि बालेन सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएर विद्रोहमा उत्रिरहेको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले समेत सरकारको विरोध गर्न थालेको उल्लेख गर्दै उनले सरकारविरुद्धको आन्दोलन मधेशबाटै सुरु हुन सक्ने ठोकुवा गरे ।

सरकारले ल्याएको बजेटबाट पनि मधेश र मधेशीलाई कतिसम्म प्रहार गरेको छ भन्ने पुष्टि भएको उनको भनाइ छ । अब मधेशी जनताले बालेन सरकारको रवैयाबाट आजित भएको उनले बताए । विगतमा आफू पनि मधेशबाट चुनाव लडिसकेको मान्छे भएकोले पनि यहाँका जनताको मनोभाव राम्रोसंग बुझेकाले यहाँका मधेशी जनता अहिलेको सरकारको रवैया देखेर चुप लागेर बस्ने मनस्थितिमा नरहेको उनी बताउँछन् । यसैबीच, भोटेकोशी नदीमा आएको बाढी तथा विपत्तिको उद्धारमा पनि सरकार असफल भएको प्रचण्डले आरोप लगाए । विपत्तिको सुरुवाती पाँच दिनमै विज्ञहरूको सहयोगमा गम्भीरतापूर्वक उद्धार अभियान सञ्चालन गरेको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो ।

१३औँ दिनसम्म पनि जीवित व्यक्तिहरू फेला परेको उल्लेख गर्दै उनले उद्धार कार्यमा सरकार गम्भीर हुन नसकेको बताए । भोटेकोशी प्रलयको कारण र समाधानबारे वैज्ञानिक अध्ययन भइरहेको बताउँदै प्रचण्डले जलवायु परिवर्तनको प्रभावका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिको जोखिम बढिरहेको बताए । विकसित मुलुकका कारण उत्पन्न जलवायु परिवर्तनको असर तल्लो तटीय क्षेत्रमा बढी परेको भन्दै उनले ‘क्लाइमेट जस्टिस’को विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए ।

मधेशमा अहिले पहाडी क्षेत्रका जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले विपत्तिका बेला एकअर्कालाई सहयोग गर्ने परम्परालाई निरन्तरता दिन आग्रह गरे । ‘पहाडमा पीडा हुँदा मधेशले सहयोग गरेको छ र मधेशमा पीडा हुँदा पहाडले सहयोग गरेको छ। यो परम्परा सकारात्मक छ,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवसहितका नेताहरूले स्वागत गरेका थिए । उनी बिहीबार सिरहामा र शुक्रबार महोत्तरीमा आयोजित पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

Comment

Related News

Latest News

Trending News