पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।
पर्साको वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, पर्साले यसअघि पहिलो चरणमा ६ दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि म्याद माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय, पर्साले शुक्रबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले जनाए अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिताअन्तर्गत गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । क्यासिनोमा भएको घटनामा गाउँपालिका अध्यक्षदेखि प्रहरी निरीक्षकसम्म पक्राउ परेपछि सो प्रकरणलाई चासोका साथ हेरिएको छ । पर्सा प्रहरीले घटनामा संलग्न सबै पक्षको भूमिकाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


