सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर भएको प्रसूति प्रकरणमा छानबिन शुरु भएको छ ।
घटनाको समयमा ड्युटीमा रहेका अस्पतालका ६ कर्मचारीलाई छानबिन नसकिँदासम्म कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ । हटाइएकामा डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतर छन् । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाबारे जानकारी पाएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालले जवाफ बुझाइसकेको जानकारी दिइन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाहलगायत पाँच सदस्यीय टोली राजविराज पुगमा छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । अस्पतालले जनाए अनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथामा रहेकी ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल पुगेकी थिइन् । प्रारम्भिक परीक्षणपछि उनलाई प्रसूति वार्डमा भर्ना गरिएको थियो ।
आवश्यक जाँचको रिपोर्ट नआएकाले थप परीक्षण गर्न सुझाव दिइएको थियो । त्यसक्रममा उनी कुरुवासहित अस्पतालको शय्या छाडेर बाहिरिएको दाबी अस्पतालले दाबी गरेको छ । करिब पौने तीन घण्टापछि बिहान ४ः४५ बजे उनले अस्पतालको मूल गेटबाहिरै बच्चा जन्माएकी थिइन् । घटनापछि आमा र नवजात शिशुलाई पुनः अस्पताल ल्याइएको थियो । हाल दुवैलाई बेड नम्बर २२ मा राखेर उपचार तथा स्याहार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री मेहताले बताइन् ।
सो घटनामा अस्पतालको सेवा प्रवाहमा कमजोरी देखिए दोषीमाथि कानुनबमोजिम कारबाही गरिने मन्त्रीले स्पष्ट पार्दै सुरक्षित मातृत्व र गुणस्तरीय प्रसूति सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।


