परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
उहाले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाले भृकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान, विद्यार्थी, अनुसन्धानकर्ता र व्यापारीमार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभयो ।


