प्रहरीसँग आफ्नो ‘पहुँच’ रहेको भन्दै थुनुवा छुटाइदिने र मुद्दा मिलाइदिने नाममा रकम असुली गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्।
गरुडा नगरपालिका–९ श्रीपुरका शेख हुस्नैनलाई प्रहरीले १ लाख रुपैयाँ असुली गरेको आरोपमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार केही दिनअघि श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीलाई सम्पर्क गरी प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र थुनुवालाई छुटाइदिने आश्वासन दिएको आरोप छ।
सोही आश्वासनमा उनले १ लाख रुपैयाँ लिएको बताइएको छ। तर रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।
जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै हुस्नैनलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले प्रहरीको नाम र पदको दुरुपयोग गरी रकम असुली गरेको आरोपमा हुस्नैन पक्राउ परेको बताए।
“प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय हो। जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ,” उनले भने।
वर्तमान वडाध्यक्ष पनि अनुसन्धानमा
हुस्नैन पक्राउ परेपछि यो प्रकरणले थप मोड लिएको छ। सोही घटनामा गरुडा–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको प्रहरीले जनाएको छ।
सहनीमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताए। तर सहनीले भने आफूले रामजनलाई छुटाउन कसैसँग पनि रकम नलिएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्।
‘प्रहरीसँग पहुँच’को दाबी, ठगीको माध्यम
घटनाले प्रहरीसँगको पहुँच र राजनीतिक प्रभावको नाममा सर्वसाधारणबाट रकम असुल्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ।
थुनुवा छुटाइदिने, मुद्दा मिलाइदिने वा प्रहरीसँग ‘सेटिङ’ मिलाउने भन्दै रकम उठाउनु केवल आर्थिक ठगीको विषय नभई प्रहरी संगठनको नाम र विश्वसनीयताको दुरुपयोगसँग समेत जोडिएको देखिन्छ।
यद्यपि हुस्नैनमाथिको आरोप अहिले अनुसन्धानकै क्रममा छ। उनले वास्तवमै प्रहरीसँग कुरा गरेर थुनुवा छुटाउने नाममा रकम लिए वा अन्य कुनै उद्देश्यमा रकम लिएको भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
प्रहरीले आफ्नो नाम, पद वा पहुँचको दुरुपयोग गरी रकम असुल्ने जोसुकैलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


