उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताउनुभयो ।
उहाले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै घिसिङले जेन–जी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गर्नुभयो ।
साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उहाले बताउनुभयो ।
उहाले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उहाले बताउनुभयो ।


