भारत सरकारले बिहार राज्यको मधुवनी जिल्ला अन्तरगतको सीमावर्ती जयनगरमा अप्रवासन कार्यालय (इमिग्रेशन अफिस) खोल्ने भएको छ ।
नेपालको धनुषा जिल्लासित रेल र राजमार्गबाट जोडिएको जयनगरमा अप्रवासन कार्यालयको स्थापनाले तेस्रो मुलुकका नागरिकहरुलाई अब भारत जान सहज हुनेछ । मधेश प्रदेशको जिल्लाहरुमा घुम्न आउने तेस्रो मुलुकका नागरिकहरुलाई भारत फर्कन काठमाण्डु जानुपर्ने बाध्यता हट्ने भएको छ । भारत सरकारको गृह मन्त्रालय मातहतको अप्रवासन कार्यालय स्थापनासँगै मधेश भ्रमणमा आउने तेस्रो मुलुकका नागरिकलाई भारत प्रवेश गर्ने बैध मार्ग जयनगर हुनेछ ।
जनकपुरधामबाट तेस्रो मुलुकका नागरिकहरु रेलबाट जयनगर जानुपर्ने हुन्छ । जयनगर सम्म जटही नाकाबाट पनि राजमार्ग भएर जान मिल्ने अथवा नमिल्ने अझै प्रष्ट भइसकेको छैन । अहिले विदेशमा बसोबास गर्ने भारतीय नागरिक (एनआरआई) हरुले पनि सीमावर्ती क्षेत्रमा इमिग्रेशनको सुबिधा नहुँदा जनकपुरधामको जानकी मन्दिरमा दर्शन पुजागरि भारत जान काठमाण्डु फर्किनुपर्ने बाध्यात्मक अवस्था छ । एनआरआइहरुले बिहारमा रहेका आफन्तहरुसित जनकपुरधाममा भेंटने अथवा फर्केर नयाँदिल्लीबाट भेंटन जाने अवस्थाको अन्त्य हुने भएको छ । भारतीय गृह मन्त्रालयले अप्रवासन कार्यालय खोल्ने निर्णय गरिसकेको छ ।
जयनगरका वरिष्ठ पत्रकार ललित झाले जनाए अनुसार भारत सरकारका गृहमन्त्री अमित शाह र गृह राज्यमन्त्री नित्यानन्द रायको सकृयतामा जयनगरमा अप्रवासन कार्यालय स्थापन हुन लागेको छ । भारतका लागि विजा प्राप्त व्यक्तिले जयनगर अप्रवासन कार्यालयमा कानुनी प्रकृया पुरागरि भारतमा सहज प्रवेश पाउने छन् ।यस अघि सीमावर्ती क्षेत्रमा तेस्रो मुलुकका नागरिकसित भारतको विजा भएपनि प्रवेश गर्ने प्रयासगर्दा जेल सम्म जानुपर्ने अवस्था थियो ।
गृह राज्यमन्त्री राय बिहारका भारतीय जनता पार्टीको सांसद हुन् । उनको प्रयासमा नेपाल र भारतबीचको रेलवे जोड्ने भारतीय सहर जयनगरमा अप्रवासन कार्यालयको स्थापना गर्न लागिएको छ ।अप्रवासन कार्यालय सम्बन्धी निर्णय गृहमन्त्रालयले गरिसकेको छ । जयनगरबाट भारतको प्रमुख सहरहरु जोड्ने रेल सेवा सञ्चालित छ । नेपालको एकमात्र रेल सेवा महोत्तरी जिल्लाको भँगहाबाट जनकपुरधाम हुँदै भारतको जयनगर सम्म जाने गरेको छ ।
भारतले जयनगरमा इमिग्रेशन कार्यालय स्थापना गर्न लागेपनि नेपालको मधेश प्रदेशमा इमिग्रेशन कार्यालय रहेको छैन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा इमिग्रेशन कार्यालय स्थापना भए भारतमा रहेका तेस्रो मुलुकका नागरिकहरु जयनगर भएर आउन सहज हुने पत्रकार झाले बताए ।


