नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार व्यापार, पूर्वाधार, विपद् व्यवस्थापन तथा विकास सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका छन् ।
राजदूत श्रीवास्तवको दुईदिने वीरगञ्जको भ्रमण गर्दै नेपाल– भारतबीचको व्यापारिक तथा सामाजिक सम्बन्धसँग जोडिएका विभिन्न पक्षबारे सरोकारवालासँग छलफल गरेका हुन् । शुक्रवार वीरगञ्ज आइपुगेका राजदूत श्रीवास्तवले एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गरी वीरगञ्ज भन्सार प्रमुख, टर्मिनल प्रमुखलगायतका अधिकार ीसँग भेटघाट गर्दै उनले नेपाल–भारतबीचको सीमापार व्यापारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन भइरहेका कामबारे जानकारी लिएका छन् । त्यसपछि राजदूत श्रीवास्तवले भारततर्फको रक्सौलस्थित आईसीपीको पनि भ्रमण गरे। त्यहाँ उनले भारतीय भूमि पत्तन प्राधिकरण (एलपीएआई), सशस्त्र सीमा बल (एसएसबी), भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन तथा एफएसएसएआईका वरिष्ठ अधिकारीसँग भेट गरी सीमापार व्यापार सहजीकरण र दुई देशका सम्बन्धित निकायबीचको समन्वयबारे समीक्षा गरे । राजदूतले रक्सौलस्थित भारतीय दूतावासको बंगलामा पुगेर वृक्षरोपणसमेत गरे। साँझ उनले भारत–नेपाल सहयोग मञ्च तथा नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डलसँग भेटघाट गरे ।
त्यसपछि वीरगञ्जका उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै व्यापार तथा औद्योगिक क्षेत्रका विषयमा छलफल गरे । शनिबार बिहान राजदूत श्रीवास्तवले स्थानीय पत्रकारसँग अन्तरक्रिया गरेका थिए। भेटघाटका क्रममा उनले भारत र नेपालबीचको गहिरो तथा दिगो मित्रतामा जोड दिँदै नेपालको विकासमा भारतको निरन्तर सहयोग र प्रतिबद्धता कायम रहने बताए ।
उनले हाल नेपालमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगबारे पनि जानकारी गराए। उनका अनुसार अगस्ट २६ देखि भारतले नेपालका बाढी प्रभावितका लागि १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको छ । आश्रय सामग्री, कम्बल, स्वच्छता किट, सौर्य बत्ती र औषधिसहितका सामग्री आठ वटा भारतीय वायुसेनाका उडानमार्फत नेपाल ल्याइएको उनले बताए ।
त्यसैगरी चिलिमे र लाङटाङ क्षेत्रमा उद्धार कार्यका लागि विशेष सुरुङ उद्धार टोलीसहित ५४ जना विशेषज्ञ कर्मचारी परिचालन गरिएको जानकारी राजदूतले दिए। भारतले डीएनए किट तथा फोरेन्सिक सहयोग उपलब्ध गराउनुका साथै बाढीका कारण अवरुद्ध कनेक्टिभिटी पुनस्र्थापित गर्न बेलिब्रिज निर्माणका उपकरणसमेत उपलब्ध गराएको छ । २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सातवटा पुलका लागि आवश्यक सामग्री आपूर्ति गरिएको भारतीय पक्षले जनाएको छ ।


