मधेश प्रदेशमा इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत नयाँ क्याम्पस स्थापना गर्ने संघीय सरकारको तयारीसँगै जनकपुरधामको बसहियामा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको निलार्जुन इञ्जिनियरिङ कलेजको भवन पुनः प्रयोग गर्ने विषयमा बहस शुरु भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार इञ्जिनियरिङ अध्ययनका लागि मधेश प्रदेशका विद्यार्थीले काठमाण्डु तथा अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले क्याम्पस स्थापना गर्न लागिएको छ । मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इञ्जिनियरिङ अध्ययनका लागि काठमाण्डुलगायत देशका विभिन्न सहरमा जाने गरेका छन् ।
प्रदेशमै गुणस्तरीय इञ्जिनियरिङ शिक्षा उपलब्ध नहुँदा विद्यार्थी तथा अभिभावकले अतिरिक्त शुल्क, आवास, यातायात र दैनिक जीवनयापनलगायतका खर्च व्यहोर्नुपर्ने अवस्था छ । नयाँ क्याम्पस स्थापना भएपछि यस्तो आर्थिक तथा व्यावहारिक बोझ स्वतः कम हुने छ । मन्त्री पोखरेलले जनाए अनुसार क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिले दिने प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ।
क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा अहिलेसम्म तय नभए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको उनले बताएका छन् । सरकारले प्रस्तावित इञ्जिनियरिङ क्याम्पसलाई परम्परागत रूपमा कक्षा सञ्चालनमा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको जनाएको छ । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानका आंगिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् ।
मधेश प्रदेशमा नयाँ आंगिक क्याम्पस स्थापना भएमा देशका विभिन्न भौगोलिक क्षेत्रमा इञ्जिनियरिङ शिक्षाको पहुँच विस्तार हुनुका साथै मधेशका विद्यार्थीलाई आफ्नै प्रदेशमा अध्ययन गर्ने अवसर प्राप्त हुनेछ । सरकारले मधेशमा इञ्जिनियरिङ क्याम्पस स्थापना गर्ने तयारी थालेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ मा पर्ने बसहियामा दुई दशकअघि स्थापना गरिएको निलार्जुन इञ्जिनियरिङ कलेजको विषय पनि पुनः चर्चामा आएको छ ।
स्थानीय युवालाई आफ्नै क्षेत्रमा इञ्जिनियरिङ शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कलेज केही वर्ष सञ्चालनपछि विवाद र आन्दोलनका कारण प्रभावित भएको र पछि कलेजको सञ्चालन काठमाण्डुमा केन्द्रित भएको स्थानीयवासी बताउँछन् । हाल बसहियामा रहेको सो कलेजको भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको स्थानीयको भनाइ छ । जनकपुरधाम वडा नम्बर २४ का जितेन्द्र साहले सम्बन्धित निकायको बेवास्ताका कारण महत्वपूर्ण शैक्षिक पूर्वाधार लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेकाले सोही भवनलाई प्रयोगमा ल्याइ कलेज सञ्चालन ल्याउन माग गरेका छन् ।
मधेशमा नयाँ इञ्जिनियरिङ क्याम्पस स्थापना गर्ने सरकारको योजना अन्तर्गत उक्त भवन तथा पूर्वाधारको सम्भाव्यता अध्ययन गर्न माग गरेका छन् । जनकपुरधाम वडा नम्बर १० का किसन मण्डलले नयाँ संरचना निर्माणमा ठूलो रकम खर्च गर्नुको सट्टा उपलब्ध पूर्वाधारको प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी उपयोग गर्न सकिए राज्यको लगानीसमेत बचत हुने बताउँछन् । स्थानीयका अनुसार निलार्जुन इञ्जिनियरिङ कलेज स्थापना गरिएको जग्गा गुठी संस्थानसँग सम्बन्धित छ । त्यसैले सो भवन तथा जग्गाको स्वामित्व, कानुनी अवस्था र प्रयोगसम्बन्धी विषय अध्ययन गरेर उपयुक्त कानुनी प्रक्रियामार्फत त्यसलाई सार्वजनिक शैक्षिक प्रयोजनमा उपयोग गर्न सकिने स्थानीयको भनाइ छ ।
आर्थिक रूपमा विपन्न, गरिब तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गर्दै क्याम्पस सञ्चालन गर्न सके त्यसबाट मधेशका ठूलो संख्याका विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ । प्रदेशमै इञ्जिनियरिङ शिक्षा उपलब्ध हुँदा विद्यार्थीलाई काठमाडौँ वा अन्य सहरमा गएर महँगो शुल्कमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता पनि कम हुने स्थानीयको भनाइ छ । मधेशमा आईओईको नयाँ क्याम्पस स्थापना घोषणा गरेर मात्र उद्देश्य पूरा नहुने भएकाले गुणस्तरीय शिक्षक, प्रयोगशाला, आधुनिक उपकरण, अनुसन्धानका लागि आवश्यक बजेट र दक्ष जनशक्तिको सुनिश्चितता गर्नुपर्ने उनीहरूको सुझाव छ ।


