मधेश कृषि विश्वविद्यालयले प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह व्यवहार गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै मधेश प्रदेशका माननीय शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुरले विश्वविद्यालयको तर्फबाट मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह समान अवसर, सुविधा तथा व्यवहार गर्नुपर्ने माग राखेका हुन् । सो अवसरमा विश्वविद्यालयको तर्फबाट मन्त्रीलाई मायाको चिनोसहित सम्मानसमेत गरिएको थियो । ज्ञापनपत्रमा विश्वविद्यालय अनुदान आयोगलगायतका सम्बन्धित निकायबाट प्रादेशिक विश्वविद्यालयलाई आवश्यक नीतिगत, शैक्षिक तथा आर्थिक सहयोग र समन्वय उपलब्ध गराउनुपर्ने माग गरिएको छ। साथै, स्नातक तहमा विद्यार्थी भर्नाका लागि देशभर लागू हुने गरी एकीकृत प्रवेश परीक्षा प्रणालीको व्यवस्था गर्नुपर्ने विषयसमेत उठाइएको छ ।
त्यसैगरी, मधेश प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुने वा स्थापना हुने कृषि कलेजहरूलाई एकरूपता, गुणस्तर र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि मधेश कृषि विश्वविद्यालयअन्तर्गत समावेश गर्नुपर्ने माग विश्वविद्यालयले अघि सारेको छ । यसैबीच, नेपाल पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा तथा शिक्षा समन्वय इकाइ सप्तरीको सहकार्यमा माध्यमिक तहसम्मको गुणस्तरीय शिक्षाका लागि पाठ् यक्रम सुधारसम्बन्धी छलफल कार्यक्रम पनि मधेश कृषि विश्वविद्यालयको कृषि महाविद्यालयको सभाहलमा सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाका मेयर ईसरत प्रविणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्वान्, शिक्षा विज्ञ तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा माध्यमिक तहसम्मको शिक्षालाई समयसापेक्ष, गुणस्तरीय र विद्यार्थीकेन्द्रित बनाउन पाठ्यक्रममा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको थियो । सोही अवसरलाई विश्वविद्यालयले आफ्ना समसामयिक समस्या तथा चुनौतीहरू सम्बन्धित निकायसमक्ष राख्ने अवसरका रूपमा उपयोग गरेको थियो ।
विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी भर्ना न्यून हुनु तथा विश्वविद्यालय अनुदान आयोग, शिक्षा क्षेत्रलगायतबाट प्राप्त हुने केन्द्रीय सहयोगमा कमी महसुस भइरहेको विषयलाई समेत विश्वविद्यालयले गम्भीरतापूर्वक उठाएको जनाएको छ । कार्यक्रमका क्रममा विश्वविद्यालयका तर्फबाट सकरा भगवतीको तस्वीर मायाको चिनोका रूपमा प्रदान गर्दै मन्त्रीलाई माला तथा गमछा ओढाएर सम्मान गरिएको थियो। त्यसपछि रजिस्ट्रार डा. भगवान ठाकुरले विश्वविद्यालयका माग तथा समस्याहरू समेटिएको ज्ञापनपत्र औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका डीन, अनुसंधान निर्देशक तथा अन्य कर्मचारीको उपस्थित रहेको थियो ।


