नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ ।
संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो । विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा शशांक कोइरालाले बताउनुभयो ।
उहाले असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताउनुभयो । उहाले पार्टीको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उहाले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गर्नुभयो । उहाले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने धारणा राख्नुभयो ।
१५औं महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ । कोइरालाले कुनै पक्ष असन्तुष्ट वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय …वार्ताÚ रहेको र संवादमार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । केवल अर्को पक्षको तर्क सुनेर नपुग्ने भन्दै उहाले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनुवाइ नगरेको आरोप लगाउनुभयो ।
पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठूलो जिम्मेवारी रहेको कोइरालाले बताउनुभयो । सभापति शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएकोबारे सोधिएको प्रश्नमा उहाले सभापतिको व्यस्तताका कारण हुनसक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नहुने धारणा राख्नुभयो । पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनइतर समूहको निष्कर्ष छ ।


