मिथिला– मधेशमा धुमधामका साथ चौठचन्द्र अर्थात चौरचन्द्र पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामसहित विभिन्न ठाउँमा सोमबार परम्परागत चौठचन्द्र पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।
मिथिला–मधेशको सांस्कृतिक पर्वका रूपमा रहेको चौठचन्द्रका लागि बिहानैदेखि घरघरमा तयारी गरिएको छ भने पर्वका सामग्री खरिद गर्नेको चहलपहल बजारमा बढेको छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा विशेषगरी महिलाहरूले व्रत बसेर साँझ उदाउँदो चन्द्रमाको पूजा अर्चनासहित फलफूलसहितका मिठा पकवानले चन्द्रमालाई ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ ।
यस पर्वमा घर– आँगन सरसफाइ गरी गाईको गोबरले लिपपोत गर्ने र आँगनको मध्यभागमा विभिन्न आकृतिसहितको अरिपन बनाइ सो आकृतिमा फलफूल र मिठा पकवानसहितका सामग्री राखेर चन्द्रमालाई साँझमा ग्रहण गराइन्छ ।
यस अघि अरिपनमा दीप प्रज्वलन गरी चन्द्रदेवको पूजा गरिन्छ । पूजाका क्रममा फलफूल, मिठाइ, दहीलगायतका प्रसाद सामग्री चन्द्रमालाई अर्पण गर्दै अघ्र्य दिने परम्परा रहेको छ । पूजा सम्पन्न गरेपछि व्रत समापन गर्ने चलन छ । चौठचन्द्र पर्वसँग भगवान् कृष्णको धार्मिक प्रसङ्गसमेत जोडिएको छ ।
द्वापर युगमा भगवान् कृष्णमाथि चोरीको आरोप लागेपछि त्यसबाट मुक्त हुन फलफूलसहित चन्द्रदर्शन गरेको धार्मिक विश्वासका आधारमा मनाइन्छ । प्राचीन मिथिलाञ्चलमा चौठचन्द्र पर्वको शुरुवात तत्कालीन दरभंगा नरेश हेमांगद ठाकुरले गरेको धार्मिक विश्वास छ ।


