२०८३ भाद्र ३०, मंगलवार ०७:१२

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नौ दिनसम्म सम्पर्कविहीन रहेका सप्तरीका प्राविधिक सञ्जय साह सकुशल घर फर्किएपछि तिलाठी कोइलाडी गाउँपालिकामा खुसीयाली छाएको छ ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र बाढीमा फसेका ३० वर्षीय साहलाई नेपाली सेनाले १०औँ दिनमा उद्धार गरेको थियो । उद्धारपछि अस्पतालमा करिब एक साता उपचार गराएका साह शुक्रबार साँझ आफ्नो गाउँ पुगेका छन् । उनी घर फर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले खुसी मनाउँदै स्वागत गरेका छन् ।

साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर तथा मिठाई बाँडेर स्वागत गरेका थिए । लामो समयसम्म छोराको अवस्थाबारे कुनै जानकारी नपाएका परिवारका सदस्यका लागि उनको सकुशल घरफिर्ती भावुक र अविस्मरणीय क्षण बनेको छ । सञ्जयका बुबा रामफल साहले छोराको उद्धार हुने आशा विस्तारै मर्दै गएको अवस्थामा सामाजिक सञ्जालमार्फत उद्धार भएको खबर थाहा पाउँदा भगवानको चमत्कारजस्तो लागेको बताए ।

सञ्जयकी पत्नी लक्ष्मी साहका लागि पनि श्रीमान्को सकुशल घरफिर्ती नयाँ जीवन पाएजस्तै भएको छ । उनले आफूले श्रीमान् भेटिने आशासमेत गुमाइसकेको अवस्थामा उहाँको उद्धार हुनु भगवानको कृपा भएको बताइन् । सञ्जयका अनुसार बाढी आउने सूचना पाएपछि आफूहरू सावधान भएका थिए । तर, पानीको बहाव तीव्र रूपमा बढेकाले सुरुङबाट बाहिर निस्किन पर्याप्त समय पाएनन् । ‘बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ, तर हामीसँग समय कम थियो । बाढी आउनै लागेको जानकारी पाएका थियौँ । साथीहरूलाई निस्कन भन्दाभन्दै र आफू बाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन,’ उनले आफ्नो अनुभव सुनाए । उनका अनुसार एक्कासि आएको ठूलो छालले सबैलाई छोपेपछि उनीहरू एकअर्काबाट छुट्टिएका थिए । त्यसपछि साथीहरू कहाँ पुगे, उनीहरूको अवस्था के भयो भन्नेबारे आफूलाई कुनै जानकारी भएन ।

बाढीपछि सुरुङभित्र फसेका साहका लागि त्यसपछिका १० दिन जीवन र मृत्युबीचको संघर्ष बने । चारैतिर अँध्यारो भएकाले दिन र रात छुट् याउनसमेत कठिन थियो । सुरुङमा बाढीको पानी र हिलो भरिएपछि पहिलेको संरचना र बाटो पहिचान गर्न सक्ने अवस्था रहेन । खानका लागि एक गेडा खानेकुरासमेत नभएको अवस्थामा उनले सुरुङभित्र उपलब्ध धमिलो पानीकै भरमा दिन बिताउनुपरेको बताए ।

माटो र मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर केही समय सुकाएपछि घाँटी भिजाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । अत्यन्त कठिन परिस्थितिमा पनि आफूले डरलाई नियन्त्रण गर्दै महामन्त्र जप गरेर मनोबल कायम राखेको उनले बताए । लामो समयसम्म सुरुङभित्र एक्लैजस्तो अवस्थामा रहेका साहलाई आफू जीवितै उद्धार हुन्छु भन्ने विश्वाससमेत हराउँदै गएको थियो । सुरुङको बाटो बाढीले परिवर्तन गरिदिएपछि बाहिर निस्कने सम्भावना न्यून देखिएको उनको अनुभव छ ।

तर, उद्धारकर्मीहरूले चलाएको मेसिनको आवाज सुनेपछि भने उनको मनमा फेरि बाँच्ने आशा पलाएको थियो । उनका लागि सुरुङभित्र बिताएका १० दिन सामान्य मानवीय क्षमताभन्दा बाहिरको संघर्ष थियो । हरेक क्षण जीवन जोगाउन संघर्ष गर्नुपरे पनि परिणाम मृत्यु हुन सक्ने भयले उनलाई लगातार सताइरहेको थियो । साहले आफूले पुनर्जीवन पाएजस्तो महसुस गरेको बताएका छन् । परिवारसँग पुनर्मिलन भएपछि खुसी भए पनि आफूसँगै बाढीमा परेका साथीहरू अझै सम्पर्कमा नआएकोमा भने उनी दुःखी छन् । सञ्जयको घरफिर्तीले परिवारमा खुसी ल्याए पनि उनका साथीहरूको अवस्थाबारेको अनिश्चितताले त्यो खुसीलाई पूर्ण हुन दिएको छैन ।

Comment

Related News

Latest News

Trending News