सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको साम्प्रदायिक घटनामा दुई सिडिओसहित ८ कर्मचारीलाई कारवाहीका लागि छानबीन समितिले सिफारिस गरेको थियो । तर गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको एक महिना बित्न लाग्दा पनि अहिलेसम्म कारवाही भएको छैन ।
घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले बुझाएको प्रतिवेदनमा यिनीहरुलाई कारवाहीको सिफारिस गरिएको थियो । ती दुइैवटै समितिले करीब एक महिनाको छानबिनपछि सकेर प्रतिवेदन बुझाएको करिब १ महिना भइसकेको छ । दुई वटै समितिले भदौ २ मा गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन । प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन । गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताउँछन् ।
कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको थियो । दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । समितिले दुई जना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमान्डरहरूलाई कारबाही गर्न सिफारिस गरेको छ । सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कारबाही गर्न समितिले सिफारिस गरेको छ ।
सुरेन्द्र पौडेललाई घटनापछि त्यहाँबाट सरुवा गरिएको थियो । कप्तानगञ्ज घटनामा सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
इन्स्पेक्टर केसीलाई अहिले त्यहाँबाट सरुवा गरिएको छ। समितिले कारबाहीको प्रकृति तोकेको छैन। गृह मन्त्रालयका एक जना उच्च अधिकारीका अनुसार ‘विभागीय कारबाही’ गर्न समितिले भनेको छ । सिरहामा प्रहरीले ७ राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रदर्शनकारी तर्फ फायर गरेको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्रले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको छानबिनबाट देखिएको छ ।
कप्तानगञ्जमा कुल २० राउण्ड गोली चलेको भेटिएको छ । कप्तानगञ्जमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ खटिएका थिए । दुवै समुदायका मानिसहरूले उनीहरूलाई चिर्पट, ढुङ्गा, बाँस र लाठी मार्फत आक्रमण सुरु गरेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएको छानबिनबाट देखिएको छ । पछि सशस्त्रका सुरक्षाकर्मीले पनि गोली चलाएको र मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष छ । सिरहाको गोलबजारमा सशस्त्र प्रहरीले गोली चलाएको भेटिएको छैन ।
गोलबजारमा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको भेटिएको थियो । गोलबजारमा प्रहरीका इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए । उनले बोकेको पेस्तोलबाट गोली चलेको छानबिन निष्कर्ष छ। प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ मा केसीलाई त्यहाँबाट हटाएको थियो ।
दुवै जिल्लामा झडप हुँदा भिडबाट पनि गोली चलाइएको अफवाह फैलिएको थियो । तर, छानबिन समितिले सुरक्षाकर्मी भन्दा बाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको रिपोर्टमा उल्लेख गरेको छ । साउन १४ मा सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ । कप्तानगञ्जको झडपमा मृत्यु हुनेमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहता छन् । चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको छानबिन समितिको निष्कर्ष छ ।


