२०८३ आश्विन १, बिहीबार ०७:४७

धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर दुई–दुई पटक अपहरण, बन्धक र बलात्कार गरेको आरोपमा मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् । धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई थुनामा पठाउने आदेश दिएसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई कारागार पठाएको हो ।

यसैबीच, घटना मिलाउन र मुद्दा फिर्ता लिनका लागि पीडित पक्षलाई २० लाख रुपैयाँको प्रलोभन दिएको अभियोग लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने १ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। धनुषा जिल्ला अदालतको सोमबारको आदेशपछि उनी धरौटी बुझाएर छुटेका हुन् । बालिकामाथि पहिलोपटक २०८१ चैत २९ गते घरनजिकै पसल सञ्चालन गर्ने ताहिर राइनले विवाहको प्रलोभन देखाएर अपहरण गरेका थिए ।

आमा खेतमा गएको मौका पारेर जनकपुरधामका विभिन्न होटलमा पु¥याई आफू र अन्य व्यक्तिहरू मिलेर जबरजस्ती करणी गरेको अभियोग राइनमाथि छ । सो समयमा बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् र केही समयपछि २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा लिखित जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परे लगतै अभियुक्त राइन वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत रेड नोटिस जारी गरी उनलाई गत साउन २५ गते कतारबाट नेपाल झिकाइएको थियो । राइनको पक्राउसँगै बालिकाको पूरक बयान र अनुसन्धानका आधारमा घटना सामसूम पार्न खोज्ने वडाध्यक्ष कवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अदालतमा दर्ता भएको अभियोगपत्र अनुसार जाहेरी दिएपछि पनि बालिका सुरक्षित रहन सकिनन् । पहिलो जाहेरीको डेढ महिनापछि २०८२ असार १७ गते बिहान करिब ४ बजे घरको दैलोमा बाख्रा बाँध्न निस्किएका बेला उनलाई अञ्जली महर ासहितको समूहले गाडीमा आएर आँखामा कपडा बाँधी पुनः अपहरण गरेको थियो । दोस्रो पटकको अपहरणपछि बालिकालाई जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिन गरी कुल १९ दिनसम्म बन्धक बनाइएको मिसिलमा उल्लेख छ।

सो क्रममा गेस्ट हाउसका सञ्चालकसहितका व्यक्तिहरूले अन्य पुरुषहरूबाट रकम असुल गर्दै बालिकामाथि पटक–पटक जबरजस्ती करणी गराएको गम्भीर आरोप छ । जाहेरी अनुसार अञ्जली महरासहित तीन जना व्यक्तिले गाडीमा आएर उनको आँखामा कपडा बाँधी अपहरण गरेका थिए । अपहरण गरी उनलाई जनकपुर ल्याएर पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन राखिएको र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको मुद्दाको मिसिलमा भनिएको छ ।

मधेश प्रदेश होटलमा बालिकामाथि जबरजस्ती करणी भएको र होटल सञ्चालकसहितका प्रतिवादीले अन्य व्यक्तिबाट समेत रकम लिएर उनलाई जबरजस्ती करणी गर्न लगाएको अभियोग मिसिलमा उल्लेख छ । हाल धनुषा जिल्ला अदालतमा यस घटनासँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् । पहिलो अपहरणको विषयलाई लिएर ‘मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक’ र दोस्रो अपहरणको विषयमा ‘जबरजस्ती करणी’ शीर्षकमा मुद्दा चलाइएको छ । यस प्रकरणमा दुई जना प्रहरी कर्मचारीसहित करिब एक दर्जन व्यक्तिहरू अभियुक्तका रूपमा नाम जोडिएका छन्। अधिकांश अभियुक्तहरू अझै फरार रहेका र सुरक्षाको उच्च जोखिम रहेका कारण पीडित बालिका लामो समयदेखि सेफ हाउसकै संरक्षणमा बस्न बाध्य छिन् ।

Comment

Related News

Latest News

Trending News