२०८३ आश्विन १, बिहीबार ११:२५

बारा निजगढमा होटलमा खाना खाने क्रममा भएको सामान्य विवादले उग्र रूप लिएपछि दुई ग्राहक कुटपिटमा घाइते भएको घटनामा प्रहरीले होटल सञ्चालकमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ गरे पनि सोही राति उनलाई छाडेको छ।

निजगढस्थित एक लाइन होटलका सञ्चालक विनोद घिसिङले मंगलबार राति खाना खान पुगेका दुई ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ। घटनामा पदमकुमार तिमल्सिनाको मुख, नाक तथा अनुहारमा चोट लागेको र अर्का रामु नामले चिनिने चालकको टाउकोमा गम्भीर चोट लागेको पीडित पक्षको भनाइ छ।

घटनाको भोलिपल्ट बुधबार तिमल्सिनाको नामबाट इलाका प्रहरी कार्यालय निजगढमा अभद्र व्यवहारसम्बन्धी निवेदन दर्ता गरिएको थियो। प्रहरीले त्यसपछि होटल सञ्चालक घिसिङलाई पक्राउ गरेको थियो।

तर पक्राउ परेको केही घण्टामै उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रहरीले जिम्मा लगाएर छाडेको पीडित पक्षले जनाएको छ। प्रहरीका अनुसार घिसिङको प्रेसर हाई भएपछि सरकारी वकिल कार्यालयको सल्लाह अनुसार सम्बन्धित व्यक्तिको जिम्मा लगाएर छाडिएको हो।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले मुद्दा दर्ता भएको स्वीकार गर्दै स्वास्थ्य अवस्था असहज भएपछि जिम्मा लगाएर छाडिएको बताए। उनले आवश्यक परे जुनसुकै बेला पुनः पक्राउ गरी थप अनुसन्धान गर्न सकिने बताए।

यद्यपि, आरोपीलाई पक्राउ गरेको राति नै छाडिएपछि घटनाले प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ। विशेषगरी गम्भीर चोटपटकसहित दुई व्यक्ति घाइते भएको दाबी गरिएको घटनामा आरोपीलाई हिरासतमा नराखी जिम्मा लगाउनुको निर्णयबारे पीडित पक्षले असन्तुष्टि जनाएको छ।

एक स्रोतका अनुसार घिसिङ नेकपा एमाले निकट केन्द्रीय सदस्यसमेत हुन्। पक्राउपछि राजनीतिक तथा होटल व्यवसायी क्षेत्रबाट प्रहरीमाथि दबाब परेको दाबी स्रोतको छ। यद्यपि, प्रहरीले भने कुनै राजनीतिक वा बाह्य दबाबका कारण आरोपीलाई छाडिएको पुष्टि गरेको छैन र स्वास्थ्य अवस्थालाई कारणका रूपमा उल्लेख गरेको छ।

घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको सार्वजनिक होटल तथा रेस्टुरेन्टमा ग्राहकको सुरक्षासँग जोडिएको छ। सामान्य भनाभन वा विवादकै क्रममा ग्राहक गम्भीर रूपमा घाइते हुने अवस्था आउनु र पक्राउ परेका आरोपी तत्कालै छुट्नुले स्थानीय उपभोक्तामाझ होटल तथा रेस्टुरेन्टको सुरक्षा व्यवस्थाबारे प्रश्न खडा गरेको छ।

अब प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान कसरी अघि बढाउँछ, घाइतेको उपचार तथा मेडिकल रिपोर्टले के देखाउँछ र आरोपीलाई पुनः पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइन्छ वा बढाइँदैन भन्ने विषय महत्वपूर्ण बनेको छ।

Comment

Related News

Latest News

Trending News