२०८३ आश्विन १, बिहीबार १४:४२

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटन गर्दै सभामुख अर्यालले विगत लामो समयदेखि निजी क्षेत्रले नै सम्पूर्ण व्यावसायिक जोखिम मोलेर देशको अर्थतन्त्र धानेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताउनुभएको हो । उहाले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र सहरीकरण भइरहेकाले नयाँ विकास र निर्माणको ठूलो सम्भावना रहेको बताउनुभयो । रियल इस्टेट आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले व्यवसायीहरूको प्रमुख समस्याका रूपमा रहेको ‘हदबन्दी’ को विषयमा सरकार गम्भीर रहेको भन्दै यसको छिट्टै समाधान निकालिने विश्वास व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई आकर्षित गर्न यस पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन आवश्यक रहेको उहाको भनाइ छ । उहाले हालैको बाढीका कारण पाँच वर्षको पुँजीगत खर्चले पनि नभ्याउने गरी ठूलो भौतिक क्षति भएको भन्दै विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण र आर्थिक पुनरुत्थानमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा सुरु प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि लगाएतका स्टल रहेका छन् ।

Comment

Related News

Latest News

Trending News