२०८३ आश्विन ३, शनिबार ०७:२२

नेपाल सरकारले पूर्व स्वीकृति अनुसार जनकपुरधामस्थित प्रसिद्ध रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला निर्धारण गरी मन्दिर आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो ।

सरकारले यससम्बन्धी सूचना राजपत्रमा समेत बिहीवार प्रकाशन गरेको छ । निर्धारित चार किल्लाअनुसार पूर्वतर्फ जनकपुरको भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको सडक तथा परिक्रमा पथलाई समेटिएको छ । पश्चिमतर्फ भमरपुरा चोक हुँदै याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुप, हनुमान मन्दिर हुँदै उत्तरतर्फ गएको परिक्रमा पथको सडकलाई सीमा निर्धारण गरिएको छ । त्यस्तै, उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक हुँदै मधेस प्रदेश भवन, मिल्स एरिया र भानु चोकसम्मको परिक्रमा पथको सडकलाई समेटिएको छ । दक्षिणतर्फ भने जनकपुरधामको मुरली चोकस्थित विद्यापति स्मारक हुँदै भमरापुरा चोकसम्म गएको परिक्रमा पथको सडकलाई सीमा तोकिएको छ । वि.सं. २०६६ सालतिरै पुरातत्व विभागले जनकपुरधामसहित धनुषा जिल्लाका विभिन्न धार्मिक सम्पदाहरुलाई संरक्षित क्षेत्र भनेर तोकेको थियो । रामजानकी मन्दिर भनिने जानकी मन्दिरलाई संरक्षित क्षेत्र घोषणा गरिएपछि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने बाटो अब सहज भएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि सम्पदाको संरक्षण र व्यवस्थापनसँग सम्बन्धित मापदण्ड पूरा गर्नुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय पनि समेटेको छ ।

Comment

Related News

Latest News

Trending News