२०८३ आश्विन ३, शनिबार ०७:३२

नेपाली कांग्रेसको गगन थापा समूहको १५औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । प्रारम्भिक चरणको निर्वाचनका लागि पार्टीले सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ । वडा अधिवेशनका लागि अधिकाँश क्षेत्रमा मतदाता नामावली पुगिसकेको छ भने तराई मधेशका लगायतका केही निर्वाचन क्षेत्रमा बाँकी रहेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार वडा अधिवेशनका लागि निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्ला र वडामा पुगिसकेका छन् भने अधिकांश निर्वाचन क्षेत्रमा मतदाता नामावलीसमेत पठाइएको छ ।

‘हाम्रा निर्वाचन अधिकृतहरू सबै जिल्ला र वडामा पुगिसक्नुभएको अवस्था छ । अहिलेसम्म १ सय ५० निर्वाचन क्षेत्रमा मतदाता नामावली पनि पुगिसकेको छ । बाँकी १५ वटा क्षेत्रमा मतदाता नामावली पठाउन बाँकी छ,’ उनले भने, ‘क्रियाशील सदस्यताको विषयमा सामान्य प्राविधिक समस्या भए पनि शुक्रवार बेलुकासम्म पुगिसक्छ ।’ देशका ६ हजार ७ सय ४३ वडामा कांग्रेसको अधिवेशन हुँदैछ । ती वडामा अधिवेशन सञ्चालनका लागि आवश्यक निर्वाचन अधिकृत खटाइसकिएको कटुवालले जानकारी दिएका छन् । उनका अनुसार १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रका लागि समेत निर्वाचन अधिकृत तोक्ने काम पूरा भइसकेको छ । उनका अनुसार मधेश धेरै स्थानमा असोज ४ गते नै वडा अधिवेशन गर्ने तयारी छ । भौगोलिक अवस्था र स्थानीय सहजतालाई ध्यानमा राखेर सम्बन्धित निर्वाचन अधिकृतले अधिवेशनको मिति र समय निर्धारण गर्ने कांग्रेसको तयारी छ ।

यता धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को मतदाता नामावली आएको छैन । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को नामावली आएपनि शनिवार निर्वाचन हुने सम्भावना देखिदैन । छलफलपछि टुँगो लगाइने बताइएको छ । कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले भने धनुषा जिल्लाको क्षेत्र नम्बर ४ का मतदाता नामावली आएको छैन, १, २ र ३ को नामावली आएपनि शनिवार निर्वाचन हुने सम्भावना देखिदैन । साथीहरु छलफलमा लागेका छन् । रातिसम्म कुनै निष्कर्ष निस्के भने शनिवार हुन्छ नभए आइतवार धनुषाका सबै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन हुनेछ । श्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ को जनकपुरधामको वडा नम्बर १९ र लक्ष्मिनियाको सपहीमा सदस्यता विवाद रहेकाले नयाँ नामावली नपठाइएको हो । श्रोतले भने यी दुवै वडामा पहिलादेखि क्रियाशील सदस्यता मध्ये केही थपिएपछि विवाद श्रृजना भएको हो ।

उता गगन थापा समूहको हुन लागेको महाधिवेशनमा देउवा समूहका नेता कार्यकर्ताहरु सहभागी नहुने जनाइएको छ । देउवा समूहले असोज १५ गते वडा अधिवेशनका मिति तय गरेका हुन् । देउवा पक्षधरले मंसिर २१ गतेदेखि छुट्टै महाविधेशनको कार्यतालिका तय गरेका छन् । वडा अधिवेशनसँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ । महाधिवेशन अन्तर्गत वडा तहबाट प्रतिनिधि चयन हुँदै क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन् । अधिवेशनमा वडा क्षेत्र भित्रका क्रियाशील सदस्यहरू वडा अधिवेशनका सदस्य हुने छन् ।

वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव एक र एक सह–सचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्ष मुनिको एक युवासहित सात जनालाई वडा सदस्यमा निर्वाचित हुने छन् । कांग्रेस विधानमा नगर–उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्ष मुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्ष मुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुन्छन् ।

Comment

Related News

Latest News

Trending News