२०८३ आश्विन ३, शनिबार ०७:४६

धनुषा जिल्लामा अपराधको ग्राफ बढदै गएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ महिनामा जिल्लामा १५९ वटा विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् ।

दर्ता भएका घटनामध्ये ज्यानसम्बन्धी १६, चोरीसम्बन्धी २०, आत्महत्यासम्बन्धी १६, संगठित तथा आर्थिक अपराधसम्बन्धी २१, सामाजिक अपराध ३८, महिला तथा बालबालिकासम्बन्धी २३, सवारी ज्यानसम्बन्धी ३ र अन्य प्रकृतिका २२ घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा जघन्य तथा गम्भीर प्रकृतिका अपराधतर्फ कर्तव्य ज्यान, हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर, जुवातास, ठगी तथा मुद्रासम्बन्धी गरी २१ वटा घटना दर्ता भएका छन् ।

चालु मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत भदौ महिनामा धनुषामा १३५ जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दाको अनुसन्धानतर्फ ८२ वटा मुद्दा फछ्र्यौट गरिएको विवरणमा उल्लेख छ । त्यसैगरी फैसला कार्यान्वयनतर्फ अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा ९२ वटा मुद्दा फछ्र्यौट गरिएको छ । यस क्रममा ७२ वर्ष १४७ महिना ४५१ दिन कैद तथा ८८ लाख ७३ हजार २१ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने फैसला कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा भदौ महिनामा ९० वटा उजुरी परेको प्रहरीले जनाएको छ । घरेलु हिंसातर्फ पनि ९० वटा उजुरी परेकोमा ८४ वटा मिलापत्रमार्फत फछ्र्यौट गरिएको छ । उपमहानगरपालिकातर्फ ३८, नगरपालिकातर्फ ३८ र गाउँपालिकातर्फ १४ वटा घरेलु हिंसाका उजुरी परेको विवरणमा उल्लेख छ । तीमध्ये क्रमशः ३५, ३७ र १२ वटा उजुरी मिलापत्रबाट टुंग्याइएको प्रहरीले जनाएको छ । हराएका महिला, पुरुष तथा बालबालिका र ज्येष्ठ नागरिकको खोजी तथा उद्धारतर्फ पनि प्रहरीले काम गरेको जनाएको छ ।

भदौमा महिला २२, पुरुष १०, बालक ७, बालिका २३ र ज्येष्ठ नागरिक ९ जना गरी ७१ जना हराएको विवरण दर्ता भएकोमा महिला ४, पुरुष २, बालक ९, बालिका ६२ र ज्येष्ठ नागरिक २४ गरी विभिन्न व्यक्तिहरू फेला परेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका ठाडो उजुरीतर्फ भदौ महिनामा ७६७ वटा उजुरी परेको छ । जसमध्ये प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ५२० उजुरी परेकोमा ३५७ वटा फछ्र्यौट भएका छन् भने १६३ वटा बाँकी छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका २४७ उजुरीमध्ये ११८ वटा फछ्र्यौट भएका छन् भने १२९ वटा फछ् र्यौट हुन बाँकी रहेको छ । यस्तै लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले भदौ महिनामा ३३२ किलो ४७० ग्राम गाँजा बरामद गरेको जनाएको छ । त्यस्तै, २२० दशमलव ६ ग्राम ब्राउन सुगर तथा अन्य लागूऔषधसमेत बरामद गरिएको विवरणमा उल्लेख छ । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ भदौ महिनामा धनुषामा ७७ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।

दुर्घटनामा ११५ वटा सवारीसाधन संलग्न रहेको र १४८ जना मानिस घाइते भएको विवरणमा उल्लेख छ । दुर्घटनामा घाइते तथा प्रभावित व्यक्तिको उद्धारमा समेत प्रहरी परिचालन भएको जनाइएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७६३ वटा सवारीसाधनमाथि कारबाही गरिएको र त्यसबाट ७ लाख ६९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिएको छ ।

उपलब्ध विवरणअनुसार चालकको कारणबाट ६५ र अन्य कारणबाट १२ वटा दुर्घटना भएको उल्लेख छ । भदौ महिनामा धनुषामा विभिन्न प्रकृतिका २० वटा विपद् का घटनामा चार जनाको मृत्यु र १३ जना घाइते भएका छन् भने ९ जनालाई प्रहरीले उद्धार गरेको विवरणमा उल्लेख छ । आगलागी, बाढीपहिरो, पानीमा डुब्ने तथा अन्य विपद्का घटनामा प्रहरी टोली परिचालन गरी उद्धार तथा सुरक्षासम्बन्धी काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १ लाख १७ हजार १६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ भने प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ १५ वटा सवारीसाधन बरामद गरी १ लाख ४ हजार रुपैयाँ जरिवाना असुल गरिएको विवरणमा उल्लेख छ । अवैध मदिरा नियन्त्रणतर्फ प्रहरीले ५२० लिटर मदिरा बरामद गरेको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News