सिरहामा एक भारतीय युवकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ । ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको ज्यान लिने उद्देश्यले भएको संगठित अपराध कसुरका एक प्रतिवादीलाई प्रहरी गोली प्रहार गरी पक्राउ गरिएको हो ।
सिरहा प्रहरीले २२ महिनापछि प्रतिवादी भारत बिहार राज्यको मधुबनी जिल्ला मधवनी थाना ललमनियाँ गाउँ घोडामोहनाका ३७ वर्षीय मोहम्मद कुर्बान मंसुरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका–२ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिकबाट भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले २०८१ माघ १६ गते बिहान करिब ३ बजे गाडी रोकी जाँच गर्न खोजेको थियो ।
प्रहरीका अनुसार सो क्रममा गाडीमा सवार व्यक्तिहरूले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले ठक्कर दिई ज्यान मार्ने प्रयास गरेका थिए । घटनापछि उनीहरू फरार भएका थिए । फरार प्रतिवादीमध्ये मुख्य अभियुक्त टाटा सफारी धनी तथा चालक मंसुरीलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए । उनका अनुसार २०८३ भदौ ३ गते साँझ करिब ७ः१० बजे बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्र नजिक नियन्त्रणमा लिने क्रममा मोहम्मद कुर्बानसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउन्ड फायर गरेका थिए ।
प्रहरीले जवाफी कारबाहीका क्रममा तीन राउन्ड गोली चलाउँदा मुख्य अभियुक्त कुर्बानको बायाँ हातको कुहिना तथा दाहिने खुट्टाको घुँडामा गोली लागेको थियो । गोली लागेर घाइते भएका कुर्बानलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको सिरहा प्रहरीले जनाएको छ ।


