२०८३ आश्विन ४, आईतवार ०६:१९

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री बालेन्द्र शाहको विकल्प खोज्ने बेला नआएको बताएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष यादवले प्रधानमन्त्री बालेनलाई जुन उद्देश्यका साथ ल्याइएको हो, त्यो मिसन पूरा नभएसम्म उनको विकल्प खोज्न उचित नहुने भने । उनले भने, ‘प्रधानमन्त्री बालेनले अहिले के गरिरहनुभएको छ, के गरिरहनुभएको छैन त्यो समीक्षाको कुरा होला, तर उहाँले तीन दलको सिन्डिकेट समाप्त गर्नुभएको छ ।’ तीन दलको ‘दादागिरी’ अन्त्य हुनु नेपालीका लागि खुसीको कुरा भएको उनले बताए ।

मधेसवादी दलका नेताहरूले प्रधानमन्त्री बन्ने हिम्मत नगरेको र मन्त्रीभन्दा माथि सोच्न नसकेको अवस्थामा बालेनले हिम्मत गरेर मधेसबाट देशको प्रधानमन्त्री बनेर इतिहास रचेको बताए । बालेनले बनाएको बाटोमा हिँडेर नेपाललाई परिवर्तन गर्नुपर्ने बताउँदै त्यसका लागि मधेसवादी दलहरूले शक्ति आर्जन गर्नुपर्नेमा जोड दिँदै उनले भने हाल मधेसवादी दलहरूसँग शक्ति नभएका कारण संविधान संशोधन गराउन सकिने अवस्था छैन ।

मधेसवादी दलहरूले आफ्नो प्रधानशत्रु छुट्याउन नसकेको र आफ्नै पार्टीभित्रका नेतालाई हराउने र पछार्ने कार्यमा लाग्दा मधेसको अवस्था कमजोर भएको उनले टिप्पणी गर्दै नेता यादवले राजनीतिलाई अगाडि बढाउन विगतका कमजोरी स्वीकार गरी अघि बढ्नुपर्नेमा जोड दिए । संसदमा चुच्चे नक्साको कुरा उठाउँदा संविधानको अन्त्य भएको दाबी गर्दै उनले भने, ‘त्यतिबेला आफ्नो पार्टीका एकजनाले बोल्दा उनको सांसद पद खोसियो तर कसैले बोल्न सकेनन् ।’ नेपाल अहिले अस्तित्वको लडाइँ लडिरहेको उल्लेख गर्दै उनले भने अब संविधान संशोधन गरेर मात्र केही हुँदैन नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ ।

Comment

Related News