२०८३ आश्विन ४, आईतवार ११:४७

भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारविरुद्ध भारतीय सुरक्षा निकायले कडाइ गरिरहेका बेला बिहारको पूर्वी चम्पारणस्थित मोतिहारी जिल्ला अदालतले लागूऔषध मुद्दामा एक नेपाली नागरिकलाई १० वर्षको कठोर कारावाससहित १ लाख भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

सजाय पाउनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ गमरगामा निवासी अनुज मण्डल रहेका छन्।

मोतिहारी प्रहरीले जनाएअनुसार रक्सौल थाना काण्ड नम्बर २२७/२३ तथा लागूऔषध मुद्दा नम्बर ४२/२३ मा मण्डलविरुद्ध प्रहरीले अनुसन्धानपछि प्रमाणसहित आरोपपत्र अदालतमा पेस गरेको थियो। सोही आधारमा भएको सुनुवाइपछि अदालतले उनलाई दोषी ठहर गरेको हो।

मोतिहारीस्थित लागूऔषध कोर्ट–१ की न्यायाधीश रेशमा वर्माले शनिबार मण्डललाई भारतीय एनडीपीएस ऐनको धारा २०९बी०९२०९सी० तथा २३९सी० अन्तर्गत दोषी ठहर गर्दै १० वर्षको कठोर कारावास र १ लाख भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएकी हुन्।

मुद्दामा विशेष लोक अभियोजक डा। शम्भु शरण सिंहले सरकारका तर्फबाट बहस गरेका थिए।

सीमापार लागूऔषध कारोबारमा कडा सन्देश

नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार दुवै देशका सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ। यही सन्दर्भमा लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट आएको लामो कैदको फैसला सीमापार लागूऔषध कारोबारमा संलग्न हुनेहरूका लागि कानुनी जोखिम कति गम्भीर हुन सक्छ भन्ने देखाउने घटनाका रूपमा आएको छ।

विशेषगरी रक्सौल–वीरगञ्ज नाका तथा आसपासका सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार नियन्त्रणका लागि भारतीय प्रहरी र सुरक्षा निकायले निगरानी बढाउँदै आएका छन्। नेपालतर्फबाट भारत प्रवेश गर्ने नेपाली नागरिकसमेत यस्ता मुद्दामा पक्राउ पर्दा भारतीय कानुनअनुसार अनुसन्धान र अभियोजनको प्रक्रियामा जाने गरेका छन्।

मण्डलको हकमा पनि प्रहरी अनुसन्धानपछि अदालतमा प्रमाण पेस भएको र अभियोजन पक्षको बहसपछि अदालतले दोषी ठहर गरेको प्रहरीको भनाइ छ। फैसलाले लागूऔषध कारोबारलाई सामान्य सीमा अपराधका रूपमा मात्र नहेरी गम्भीर आपराधिक कसुरका रूपमा कारबाही हुने अवस्थालाई समेत उजागर गरेको छ।

एसपी स्वर्ण प्रभातको नेतृत्वमा लागूऔषध नियन्त्रणमा जोड

मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउँदै अदालतमा अभियोजन पक्षलाई समेत आवश्यक सहयोग गर्दै आएको बताएका छन्।

मोतिहारी प्रहरीको कमान्ड सम्हालेदेखि एसपी प्रभातले लागूऔषधसहित विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा विशेष सक्रियता देखाउँदै आएको प्रहरीको दाबी छ।

नेपाल–भारत सीमामा लागूऔषध ओसारपसार रोक्न एकातर्फ सीमामा निगरानी र पक्राउ अभियान तीव्र पारिएको छ भने अर्कोतर्फ पक्राउ परेका व्यक्तिविरुद्ध प्रमाणसहित अदालतमा मुद्दा लैजाने क्रमले पनि निरन्तरता पाएको छ। मण्डलविरुद्धको फैसला यही कानुनी प्रक्रियाको पछिल्लो उदाहरण हो।

Comment

Related News

Latest News

Trending News