पर्साको सदरमुकाम वीरगञ्जको मुख्य सडक विस्तार गर्ने क्रममा धार्मिक तथा ऐतिहासिक महत्वका संरचना संरक्षण गरिने भएको छ ।
सडक विस्तारबाट प्रभावित घरधनीलाई नयाँ संरचना निर्माणमा सहजीकरण गर्न सेडब्याकको व्यवस्था पुनरावलोकन गर्नुका साथै नक्सापासमा छुट तथा सहुलियत दिने तयारी वीरगञ्ज महानगरपालिकाले गरेको छ । मुख्य सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको छलफलबाट वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिदलगायत संरचना यथास्थानमै संरक्षण हुने जानकारी दिए ।
सडक सीमाभित्र पर्ने महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायत संरचना जोगाएर सडक निर्माण अघि बढाइने उनले बताए। धार्मिक संरचनालाई संरक्षण गर्ने विषयलाई समेत समेटेर सडक विस्तारको डीपीआर तयार गरिएको उनले बताए । सडक विस्तारका क्रममा घर भत्किने वा प्रभावित हुने घरधनीले नयाँ संरचना निर्माण गर्दा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थाबारे पनि पुनर्विचार गरिने मेयर सिंहको भनाइ छ ।


