२०८३ आश्विन ६, मंगलवार ०६:०५

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ मा पर्ने महेन्द्रनगरमा एक व्यवसायीको गोदामको ताला फुटाएर सञ्चालकको अनुपस्थितिमा सम्पूर्ण सामग्री जफत गरिएको घटनाप्रति स्थानीय व्यवसायी तथा जनप्रतिनिधिले तीव्र विरोध जनाएका छन् ।

महेन्द्रनगरका व्यवसायी शिवशंकर साहले सञ्चालन गर्दै आएको शिवपार्वती ट्रेडर्सको गोदाममा आइतबार दिउँसो सशस्त्र प्रहरीको अगुवाइमा भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले छापा मारेको थियो । व्यवसायी साहका अनुसार आफू र परिवारका सदस्य घरमा नभएको समयमा टोलीले गोदामको ताला फुटाएर भित्र रहेका सम्पूर्ण सामग्री नियन्त्रणमा लिई लगेको छ । व्यवसायी साहले आफ्नो गोदाममा रहेका सामग्री भन्सार छली वा अवैध रूपमा ल्याइएका नभएको दाबी गरेका छन् । उनका अनुसार गोदाममा रहेका अधिकांश सामग्री नेपालमै उत्पादित हुन् भने केही सामग्री चीनबाट वैधानिक रूपमा आयात गरिएका छन् । ती सामग्रीको खरिद–बिक्रीसम्बन्धी बिल–बिजक तथा भन्सार महसुल तिरेका कागजात आफूहरूसँग सुरक्षित रहेको उनले बताए ।

‘गोदाममा रहेका अधिकांश सामान नेपालमै उत्पादित हुन् । केही सामान चीनबाट आयात गरिएका छन् । ती सबैको बिल–बिजक र भन्सार महसुल तिरेको कागजात हामीसँग सुरक्षित छ,’ साहले भने, ‘कागजात हुँदाहुँदै पनि हामीलाई जानकारी नै नदिई गोदामको ताला फुटाएर सामान लैजाने काम भएको छ ।’ साहले आफूहरूको अनुपस्थितिमा गरिएको कारबाहीले व्यवसायीलाई भयभीत बनाएको आरोप लगाए । आवश्यक कागजात देखाउने अवसरसमेत नदिई गरिएको कारबाहीप्रति उनले आपत्ति जनाउँदै सम्बन्धित निकायले घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् । सो घटनाप्रति क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले पनि कडा आपत्ति जनाएका छन् ।

व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई पूर्वसूचना नदिई र गोदाम सञ्चालकको अनुपस्थितिमा छापामारी गरी सामान नियन्त्रणमा लिनुले स्थानीय व्यवसायीमा त्रास उत्पन्न भएको उनको भनाइ छ । अध्यक्ष यादवले कानुनी प्रक्रिया अनुसार व्यवसायीलाई समेत जानकारी गराएर आवश्यक जाँच तथा अनुसन्धान अघि बढाउनुपर्नेमा व्यवसायीको अनुपस्थितिमा गरिएको कारबाहीले समग्र व्यावसायिक क्षेत्रलाई नै असुरक्षित महसुस गराएको बताए ।

क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष जिवछ मण्डलले पनि छापा मार्ने क्रममा अपनाइएको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । वडाध्यक्ष मण्डलका अनुसार आफूले व्यवसायीको उपस्थितिबिना गोदाममा छापा नमार्न आग्रह गरेका थिए । तर, उक्त आग्रहलाई बेवास्ता गर्दै सशस्त्र प्रहरीको टोलीले गोदाम खोलेर सामान नियन्त्रणमा लिएको उनले बताए । उनले जनाए अनुसार प्रहरीले वडाध्यक्षको रोहबरमा छापा मारिएको उल्लेख गर्दै गोदामबाहिर सूचना टाँसेको थियो । तर, जफत गरिएका सामानहरूको विस्तृत विवरण आफूलाई उपलब्ध नगराइएकाले पछि तयार पारिएको मुचुल्कामा आफूले सहीछाप गर्न अस्वीकार गरेको मण्डलले बताए । ‘सामानको विवरण नै नदेखाई सहीछाप गर्न भनियो। त्यसैले मैले मुचुल्कामा सही गर्न अस्वीकार गरेको हुँ,’ मण्डलले बताए ।

यता जनकपुर भन्सार कार्यालयका प्रमुख रमेश नेपालीले भने गोदाममा गरिएको छापा मुख्य रूपमा सशस्त्र प्रहरीको अगुवाइमा भएको बताएका छन् । घटनाबारे आफूहरूलाई विस्तृत जानकारी नरहेको बताउँदै उनले गोदामबाट केही विष्फोटक पदार्थअन्तर्गत पर्ने पटाका समेत बरामद भएको दाबी गरेका छन् । जनकपुर भन्सार कार्यालयले गोदामबाहिर टाँसेको सूचनामा भन्सार छली तथा चोर ी–पैठारी गरी ल्याइएका सामग्री गोदाममा भण्डारण गरिएको पाइएकाले ती सामग्री नियन्त्रणमा लिइएको उल्लेख गरेको छ । यसरी व्यवसायीले आफूहरूसँग सबै सामानको वैध खरिद तथा भन्सारसम्बन्धी कागजात रहेको दाबी गरिरहेका बेला भन्सार कार्यालयले भने गोदाममा भन्सार छली तथा चोरी–पैठारीका सामग्री रहेको दाबी गरेको छ ।

घटनामा जफत गरिएका सामग्रीको वास्तविक प्रकृति, तिनको स्रोत तथा वैधानिकताबारे सम्बन्धित निकायको थप अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ । सो घटनापछि महेन्द्रनगर क्षेत्रका व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा सरकारी निकायबाट गरिने अनुगमन तथा कारबाही पारदर्शी र कानुनी प्रक्रियाअनुसार हुनुपर्ने माग गरेका छन् । यसका साथै गोदाम सञ्चालकको दाबी अनुसार सामग्रीका बिल– बिजक तथा भन्सार महसुलसम्बन्धी कागजात भए–नभएको समेत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ ।

Comment

Related News

Latest News

Trending News